चितवन विशेष
चितवनबाटै निर्वाचन लड्छुः राज्यमन्त्री उमेश श्रेष्ठ

चितवन,असोज ११-
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मंसिर ४ गते हुने निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । आस्था आमा समूह, भरतपुर महानगरपालिका–१२ ले बडा दशैं २०७९ को अवसरमा आयोजना गरेको नवदुर्गा पूजा समारोहको उद्घाटन गर्दै उहाँले पार्टीले टिकट दिए चितवन क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘म यही निर्वाचन क्षेत्रबाट चुनाव लड्छु, पार्टीले अन्तिम टुङ्गो लगाउन बाँकी छ । तपाइ सबैको सहयोग चाहिन्छ ।’ उहाँले एकपटक चितवनका जनताबाट अनुमोदित भएर देश र जनताको सेवा गर्ने धोको रहेको बताउनुभयो । मन्त्री श्रेष्ठ पछिल्लो समय चितवनका विभिन्न कार्यक्रमहरुमा सक्रिय हुनुहुन्छ ।
धर्म, संस्कृतिको जगेर्नाका लागि बडा दशैंको अवसरमा नवदुर्गा पूजा समारोह आयोजना गरिएको समूहका अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । आजदेखि १९ गते बिजया दशमीको दिनसम्म नवदुर्गा पूजा समारोह सञ्चालन हुनेछ । कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री विजय सुवेदी,वडाध्यक्ष लेखराज पन्त हरी लगायतको सहभागिता रहेको थियो ।


























