Breaking News
चितवनबाट प्रचण्डले भनेः म प्रधानमन्त्रीको रेसमा छैन,विकास र समृद्धि चाहेको छु

चितवन,असोज १०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनुभएको छ । दशैं लगायतका चाडपर्वका अवसरमा आज प्रेस सेन्टर चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको बताउनुभयो ।
‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन,’ उहाँले भन्नुभयो, ‘मैले चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो। अहिले पनि छ तर मैले जनताको आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता ठानेको छु।’ उहाँले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गर्नुभयो। प्रचण्डले मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको पनि बताउनुभयो ।


























