Breaking News
बाटो बढाउने नाममा काठमाडौंका घर भत्काउनु हुँदैनः पर्यटन मन्त्री श्रेष्ठ

काठमाडौं, असोज ९-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्नुनहुने बताएका छन्। आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्याधिक महत्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए।
उनले पहिलाका भौतिक संरचनाको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहने उल्लेख गर्दै काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए। मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दीगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिवद्धता जनाए। पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो।
‘काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै पर्यटकीय गन्तव्य छन्, त्यसैले काठमाडौंको मोडालिटीलाई हामीले परिवर्तन गरेर जानुपर्छ। शहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ। साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने कामहरू गर्नुहुँदैन,’ उनले भने,‘हिजो जुन खालको यो शहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ। त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौं।’
मन्त्री श्रेष्ठले अहिलेको समाज आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए।


























