चितवन विशेष
भरतपुर १० का सबै टोलमा सरसफाई, सबै टोललाई वडाले दियो सरसफाई सामग्री

चितवन, असोज ८–
भरतपुर महानगरपालिका वडा नम्बर १० ले वडा भित्रको सबै टोलहरुमा सरसफाई अभियानलाई तिव्रता दिएको छ । आज (शनिबार) एक घर, एक सहभागिता वडा भित्र रहेका २७ वटै टोलमा एकै साथ सरसफाई गरिएको हो ।
चाड पर्वको समयमा टोल सरसफाई अभियान स्वरुप हरेक टोलमा वडा कार्यालयले सरसफाईका सामग्री समेत वितरण गरेको छ। रु १ लाख बराबरको सरसफाई सामग्री वितरण गरिएको वडा अध्यक्ष परमेश्वर खनालले जानकारी दिए । ‘सरसफाई अभियान मात्रै सुरु गरेर भएन, सोही अनुरुप वडाहरुलाई सामग्रीहरु समेत वितरण गरेका छौं, यसले सरसफाई अभियानले निरन्तरता पाउनेमा विश्वास छ’– वडा अध्यक्ष खनालले भने ।
शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको टोली सहित सरसफाई गरिएको थियो। हरेक टोलमा वडा अध्यक्ष सहित वडा सदस्यको उपस्थिति रहेको थियो । सो क्रममा चाडपर्वको समयमा हुन सक्ने विकृति, बिसंगति र चोरी लुटपाट लगाएतका क्रियाकलाप नियन्त्रण सम्बन्धि पोष्टर समेत वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नरहरी अधिकारी सहितको टोलीले घरदैलो समेत गरेको थियो ।



























