चितवन विशेष
देवघाटमा पण्डितहरुको बर्गिकरण

चितवन,असोज ८-
देवघाटधाममा धार्मिक तथा पितृकार्य गर्नका लागि पण्डितको वर्गिकरण गरिएको छ । देवघाट क्षेत्र विकास समितिले बिषय विज्ञद्धारा अन्तवार्ता लिएर पण्डितको वर्गिकरण गरेको हो ।
जसमा सिद्ध दान गर्न जान्नेलाई सामान्य कर्म र श्राद्ध तथा ग्रह शान्ती गर्न जान्नेलाई पुरोहित भनिएको देवघाट क्षेत्र विकास समितिका कार्याकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो । उहाँले पण्डितहरुको वर्गिकरणका लागि आवेदन माग गरिएको र अन्तवार्ता मार्फत उनिहरुलाई देवघाट क्षेत्रविकास समितिमा सूचिकृत गरिएको छ ।
दुई चरणमा पण्डितहरुको अन्तवार्ता लिइएको छ । जसमा १२ जना सहभागि भएका थिए । सिताराम संस्कृत माविका सहायक प्रधानाध्यापक अर्जुन पाण्डेले पण्डितहरुको अन्तवार्ता लिनुभएको थियो । सूचिकृत हुन चाहेका अन्यले पनि निवेदन दिइरहेको घिमिरेले वताउनुभयो ।
देवघाटमा आउने भक्तजनहरुलाई केही मान्छेहरुले पण्डितका नाममा ठग्ने, बढि पैसा माग्ने र संस्कार र विधि नपु¥याउने गरेको गुनासो बढेपछि क्षेत्रविकास समितिले बर्गिकरण गरेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भक्तजनहरुले आफै विश्वास गरेर पुरोहित देवघाट लगेको अवस्थामा क्षेत्र विकास समितिको नियम लागु नहुने उहाँको भनाई छ ।
‘पण्डितहरुलाई क्षेत्र विकास समितिमा सूचिकृत भएको कार्ड प्रदान गरेका छौं । भक्तजनहरुले त्यहि कार्डको आधामा पण्डितमार्फत आफ्नो धार्मिक क्रियाकलाप गर्न सक्नुहुनेछ ।’ उहाँले भन्नुभयो । अधिकारीले यो सुरुवात मात्र भएको भन्दै यसलाई अभियानको रुपमा लैजाने बताउनुभयो । देवघाटको महिमा र महत्वलाई अक्षुर्ण राख्न र व्यवस्थित गराउन पण्डितहरुको बर्गिकरण थालिएको अधिकारीले बताउनुभयो । देवघाटधामा सोह्र श्राद्धको अवसरमा दैनिक एक सय जना देवघाटधाममा श्राद्ध गर्न आउने गरेको क्षेत्र विकास समितिले जनाएको छ ।


























