चितवन विशेष
नव चितवन साकोसको २३औं वार्षिक साधारणसभा सकियो

चितवन, असोज ८–
नव चितवन बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–१० ले आज (शनिबार) २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभामा ऋण समितिका संयोजक राजेन्द्र पौडेल र सचिवको प्रतिवेदन पदम शंकर सापकोटाले प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा जेष्ठ सदस्यहरुमा पुरुषतर्फ ८३ वर्षीय बाबुराम सापकोटा र महिलातर्फ ८४ वर्षीया रुकमिनी देवकोटालाई सम्मान गरिएको छ ।
यस्तै शेयर सदस्यहरुको छोराछोरीमध्ये एसईईमा अधिकतम ग्रेड ल्याउने तीन जनालाई समेत सम्मान गरिएको थियो । यस्तै सर्वोत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्तालगायत विधामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको संस्थाका कोषाध्यक्ष कृष्णविलास अधिकारीले जानकारी दिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर वडा नं.१० का वडाध्यक्ष परमेश्वर खनालले सम्मान गरेका थिए ।
साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन र वासलात तथा नाफा नोक्सान विवरण अनुमोदन गरिएको थियो । यस्तै अषाढ मसान्तसम्मको आयव्यय विवरण, नीति तथा कार्यक्रम कोषाध्यक्ष कृष्णविलास अधिकारी र लेखा समितिको प्रतिवेदन कुलचन्द्र पण्डितले पेश गरेका थिए । साधारणसभाले २०७८÷७९ को वार्षिक प्रतिवेदन, नीति तथा कार्यक्रमलगायतका प्रस्ताव पारित गरेको छ ।
संस्थाका अध्यक्ष रामप्रसाद वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु टंकप्रसाद पौडेल, जगदिश्वर खनाल, प्रेमराज खनियाँलगायतको उपस्थिति रहेको थियो ।


























