Breaking News
देउवालाई शेखर पक्षको चेतावनीः ४० प्रतिशत नपाए पार्टीभित्र विद्रोह हुन्छ

काठमाडौं,असोज ८-
सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनिरहेको बेलामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै नेता व्यवस्थापनमा चुनौति बनेको छ। पार्टीभित्र टिकट वितरणमा असन्तुष्टि जनाउँदै संस्थापन इतर पक्षले बेग्लै दबाव भेला राखेपछि देउवालाई थप समस्या परेको हो। पाँच दलभित्र सिटको भागबण्डा मिलाउन हम्मेहम्मे परेको बेलामा संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा.शेखर कोइरालाले ४० प्रतिशत हिस्सा खोजेका छन्।
गठबन्धनसँग प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले कम्तिमा १ सय सिट लिनुपर्ने दाबी गर्दै आइरहेका छन्। तर, देउवा गठबन्धन जोगाउन लचक हुन तयार छन्। प्रत्यक्षमा टिकटको टुंगो नलागेको बेलामा समानुपातिकमा समेत आफूहरुलाई अन्याय गरेर बन्द सूची बुझाइएको उनीहरुको आरोप छ। सिट बाँडफाँटमा न्यायोचित व्यवहार नभए गठबन्धनमै समस्या आउने चेतावनी कोइराला समूहको छ।
शेखर पक्षका नेता जग्दीश्वरनरसिंह केसी देउवा अझै पार्टीको सभापति बन्न नसकेको दाबी गर्छन्। इतर पक्षको भेलामा पुगेका उनले भने, ‘उहाँले पार्टीलाई समान ढंगले विधि र विधानअनुसार चलाउँछु भन्नुभएको थियो। तर, उहाँको व्यहारमा देखिएन। उहाँ अझै गुटको मात्रै सभापति बन्नुभयो।’
‘शेरबहादुर दाई आफै संस्थापन इतर हुँदा नै पार्टीमा ६०/४० को नजित स्थापित गर्नुभएको हो। त्यसैले हामीले अहिले त्यही खोजेका हौँ। सम्मानजनक सिट नपाए विद्रोह हुनसक्छ’ उनको भनाइ छ। आफूहरुले सम्मानजनक रुपमा टिकट नपाए आफूहरु पार्टी बाहिर बस्ने चेतावनी दिए।
फाइल तस्विर


























