चितवन विशेष
चितवनका थारु समुदायमा ‘यमोसा’ पर्व सुरु, कालिका एफएम परिसरमा ‘यमोसा’ उत्सव हुँदै

चितवन, असोज ८–
थारु संस्कृति जगेर्नाका लागि कालिका एफएम, कालिका एचडी तथा थारु कल्याणकारिणीसभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुँदैछ । कालिका एफएम परिसरमा बिहान ११ बजेपछि यमोसा उत्सव कार्यक्रम हुन लागेको हो ।
कालिका एफएमको गौरवमय २० औँ वार्षिकोत्सवका अवसरमा हुन लागेको यमोसा उत्सव कार्यक्रमले लोप हुने अवस्थामा पुगेको थारु संस्कृति जगेर्नामा सघाउने विश्वास लिइएको छ ।
थारु समुदायले यमोसा पर्व दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा मनाउने गरिन्छ । कालिका एफएमका निर्देशक दिपक पौडेलले थारु समुदायको कला, संस्कृति उजागर गर्दै प्रर्वद्धन गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । कार्यक्रममा यमोसा मनाउने विधि, महत्वबारे समेत चर्चा हुने जानकारी दिनुभयो ।
थारु समुदायका मौलिक नृत्यहरु समेत प्रस्तुत हुनेछन् । थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत यमोसा उत्सव कार्यक्रममा समावेश हुनेछन् । कार्यक्रम कालिका एफएम, कालिका एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ । थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले यमोसा पर्वबारे जानकारी गराउने उद्येश्यले यमोसा उत्सव कार्यक्रम गर्न लागिएको बताउनुभयो । यमोसा पर्व दुई दिन मनाइन्छ ।
आज मछुवारी (माछा मार्ने) दिन र भोलि पितृको पूजा गरेर आफन्ती बोलाएर माछा, मासु लगायतका परिकारहरु खाने प्रचलन रहेको छ । यमोसा उत्सवमा चितवनका थारु समुदायका अगुवाहरु, जनप्रतिनिधि लगायतको सहभागिता रहनेछ ।


























