चितवन विशेष

चितवनका थारु समुदायमा ‘यमोसा’ पर्व सुरु, कालिका एफएम परिसरमा ‘यमोसा’ उत्सव हुँदै

०
Banner

चितवन, असोज ८–

थारु संस्कृति जगेर्नाका लागि कालिका एफएम, कालिका एचडी तथा थारु कल्याणकारिणीसभा चितवनको आयोजनामा यमोसा उत्सव कार्यक्रम हुँदैछ । कालिका एफएम परिसरमा बिहान ११ बजेपछि यमोसा उत्सव कार्यक्रम हुन लागेको हो ।

कालिका एफएमको गौरवमय २० औँ वार्षिकोत्सवका अवसरमा हुन लागेको यमोसा उत्सव कार्यक्रमले लोप हुने अवस्थामा पुगेको थारु संस्कृति जगेर्नामा सघाउने विश्वास लिइएको छ ।

थारु समुदायले यमोसा पर्व दिवंगत भएका आफन्त तथा पितृहरुको सम्झनामा मनाउने गरिन्छ । कालिका एफएमका निर्देशक दिपक पौडेलले थारु समुदायको कला, संस्कृति उजागर गर्दै प्रर्वद्धन गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो । कार्यक्रममा यमोसा मनाउने विधि, महत्वबारे समेत चर्चा हुने जानकारी दिनुभयो ।

थारु समुदायका मौलिक नृत्यहरु समेत प्रस्तुत हुनेछन् । थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत यमोसा उत्सव कार्यक्रममा समावेश हुनेछन् । कार्यक्रम कालिका एफएम, कालिका एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ । थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललित चौधरीले यमोसा पर्वबारे जानकारी गराउने उद्येश्यले यमोसा उत्सव कार्यक्रम गर्न लागिएको बताउनुभयो । यमोसा पर्व दुई दिन मनाइन्छ ।

आज मछुवारी (माछा मार्ने) दिन र भोलि पितृको पूजा गरेर आफन्ती बोलाएर माछा, मासु लगायतका परिकारहरु खाने प्रचलन रहेको छ । यमोसा उत्सवमा चितवनका थारु समुदायका अगुवाहरु, जनप्रतिनिधि लगायतको सहभागिता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>