चितवन विशेष

भरतपुर १२ को आस्था आमा समूहले दशैंमा नवदुर्गा पूजा समारोह गर्ने

Banner

चितवन,असोज ८-

आस्था आमा समूह, भरतपुर–१२ ले बडा दशैं २०७९को अवसरमा नवदुर्गा पूजा समारोह आयोजना गर्ने भएको छ । धर्म, संस्कृतिको जगेर्नाका साथै सम्पूर्ण वडा तथा टोलबासीहरुको सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामनासहित बडा दशैंको अवसरमा नवदुर्गा पूजा समारोह आयोजना गर्न लागिएको समूहका अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो ।

यही असोज १० गते घटस्थापनादेखि १९ गते बिजया दशमीको दिनसम्म नवदुर्गा पूजा समारोह सञ्चान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्वर १२ स्थित आस्था टोल विकास संस्थाको कार्यालय प्राङ्गणमा समारोह आयोजना गरिने छ । अध्यक्ष भण्डारीकाअनुसार नवदुर्गा पूजा समारोह उद्घाटनकै अवसरमा आस्था आमा समूहको भवन शिलान्याससमेत गरिने छ ।

समारोहलाई व्यवस्थित गर्न अध्यक्ष भण्डारी संयोजक रहनुभएको नवदुर्गा पूजा मूल समारोह समिति गठन गरिएको आस्था आमा समूहका सचिव सीता चपाईं (पौडेल)ले जानकारी दिनुभयो । समितिको सहसंयोजकमा रामबाबु थापा र विशिष्ट सदस्यमा सुमन केसी, मनोज शाहलगायत रहनुभएको छ । त्यस्तै, मञ्च व्यवस्थापन एवम् सजावट, पूजा व्यवस्था, अर्थ व्यवस्थापन, प्रचार प्रसार व्यवस्थापन, भजन किर्तन व्यवस्थापन, सरसफाई तथा पूजा वातावरण व्यवस्था, प्रसाद वितरण व्यवस्थापनलगायत उपसमिति गठन गरिएको छ ।

नवदुर्गा पूजा समारोहलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक सल्लाह, सुझावका लागि टोलभित्रका विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर मोहनकुमारी न्यौपानेको संयोजकत्वमा सल्लाहकार समितिसमेत गठन गरिएको सचिव चपाईंले जानकारी दिनुभयो ।

नवदुर्गा पूजा समारोहको संरक्षक आस्था टोल विकास संस्था रहेको छ । दुर्गा भवानीको पूजा पाठ एवम् दैनिक कथा वाचक पण्डित चिन्तामणी खतिवडा रहनुहुने छ ।
आस्था आमा समूहका अध्यक्ष अमृत भण्डारीकाअनुसार नवदुर्गा पूजा समारोह उद्घाटनको दिन विहान ७ बजे पूजा समारोहस्थलबाट कलश यात्रासमेत गरिने छ । कलश यात्राले टोलका विभिन्न भागको परिक्रमा गरि पुनः पूजा समारोह स्थलमा आई उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।

भण्डारीकाअनुसार दैनिक विहान ७ बजेबाट पाठपूजा शुरु भई दिउँसो दुर्गा भवानी माताको कथा प्रवचन र बेलुकी भजन किर्तन हुने छ । सप्तमीका दिन फूलपाती बढाइँ, अष्टमीका दिन पूजापाठ तथा नरिवल बली, नवमीका दिन नवकन्या पूजा तथा दशमीका दिन देवी प्रसाद ग्रहणको कार्यक्रम रहेको छ ।

नवदुर्गा पूजा समारोहबाट बचत भएको रकम आस्था आमा समूहको भवन निर्माणमा लगानी गर्ने योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । समारोहको आधिकारी मिडियाको रुपमा नारायणी अनलाइन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>