चितवन विशेष
चितवनको दन्तचिकित्सा क्षेत्रमा साइराम डेन्टलले भित्र्यायो नयाँ प्रविधि, मुखको सबै अवस्था थ्रिडी तस्वीरमै हेर्न सकिने

चितवन, असोज ८–
चितवनको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय नयाँ–नयाँ प्रविधिहरु भित्रिन थालेको छ । यसैक्रममा दन्त चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाएको नारायणगढस्थित साईराम डेण्टल केयरले डिजिटल स्क्यानर भित्र्याएको छ ।
नेपालमा भर्खरै मात्र भित्रिएको यो प्रविधि काठमाडौँ उपत्यका बाहिर पहिलो पटक साईरामले भित्र्याएको हो । यो प्रविधिबाट मुखभित्रको सम्पूर्ण अवस्थाको जानकारी कम्प्युटरको स्क्रिनमा थ्रिडी तस्वीरमा हेर्न सकिने वरिष्ठ दन्तरोग विशेष डा. अजय न्यौपाने बताउँछन् ।
विगतमा बिरामीको दाँतसम्बन्धी क्राउन, ब्रिज, दाँत राख्ने लगायत जुनसुकै काम गर्नु परेमा हातैले नापो लिनु पर्ने, नापो अनुसार ल्याब (प्रयोगशाला) मा पठाउनु पर्ने बाध्यता हुन्थ्यो । प्रयोगशालाबाट बनेर आएपछि पनि कहिलेकाहीं नमिल्ने जस्ता समस्या हुने भएकाले काम गर्न धेरै झन्झटिलो र गाह्रो हुने गरेको अवस्थामा यो प्रविधि स्तरीय र छिटोछरितो रहेको डा. न्यौपाने बताउँछन् । ‘यो प्रविधिले दाँतको मात्रै होइन पुरै मुखकै स्क्यान गर्छ, त्यसले मुखमा क्यान्सर हुने अवस्था छ कि छैन भन्ने अवस्था समेत पत्ता लगाउँछ’–डा.न्यौपानेले भने ।
साईराम डेण्टल केयरकी संचालिका डा. सरु थापा न्यौपानेले यो प्रविधि ठूला देशहरुमा निकै उपयोगी बनेको भन्दै नेपालका लागि पनि महत्वपूर्ण सावित हुने बताइन् । उनले बिरामीलाई कसरी सहज र छिटोछरितो उपचार गर्न सकिन्छ भनेर डेन्टल केयर लागिरहेको अवस्थामा यो नयाँ प्रविधि भित्र्याउन सफल भएको बताइन् ।
काठमाडौँबाहिर पहिलोपटक यो प्रविधि चितवनमा भित्र्याउन सफल भएकाले बिरामीहरुले सहज उपचार पाउनेमा विश्वास व्यक्त गरिन् । ‘हामी बिरामीको उपचारसहज होस् भन्ने पक्षमा छौं, नयाँ प्रविधि आउने बित्तिकै हामी चितवनमा ल्याउने प्रयासरत हुन्छौं’–डा.थापाले भनिन् ।
























