Breaking News

पहिरोले देवघाट बेणी संगम जाने बाटो बन्द, गलेश्वर आश्रम समेत जोखिममा

Banner

चितवन,असोज ६-

हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ । देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो ।

विनाशकारी भूकम्प पश्चात पहिरो जान सुरु भएको देवघाटधाममा पटकपटक पहिरो खस्दै आएको छ । देवघाटको वेणीसङ्गम नजिकै त्रिशूली नदीतर्फको भागबाट सुक्खा पहिरो जान थालेपछि यहाँ १० रोपनीभन्दा बढी जमिन तथा आठ कुटीमा पूर्ण क्षति पुगिसकेको छ ।

पुनः आज बिहान गएको सुक्खा पहिराका कारण वेणी सङ्गममा स्नान गर्न जाने पदमार्ग नै बन्द भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले जानकारी दिनुभयो । “माटो निरन्तर खसिरहेको छ”, उहाँले भन्नुभयो, “मानवीय दुर्घटना हुनसक्ने जोखिमले क्षेत्र विकास समितिले बाटो बन्द भएको बोर्ड नै टाँसेको छ ।” देवघाट वेणीमा स्नानका लागि जान क्षेत्र विकास समिति र स्थानीय सरकारले निर्माण गरेको रेलिङसहितको पक्की संरचना नै पहिराले भत्काएर त्रिशूलीमा पु¥याएको अधिकारीले बताउनुभयो ।

सोह्र श्राद्धको समयमा देवघाटमा श्राद्ध गर्न आउने भक्तजनलाई समस्या भएको उहाँले बताउनुभयो । उहाँले पहिरो ठूलो खसेको र यसको दीर्घकालीन समस्या समाधान गर्नुपर्ने भएकाले प्रदेश र केन्द्र सरकारसंग बजेटका लागि आग्रह गरिएको बताउनुभयो ।

त्रिशूली नदीको किनारमा चट्टानी ढुङ्गा भए पनि माथिल्लो तहमा बलौटे माटो हुँदा यहाँ पटकपटक पहिरो जान थालेको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले बताउनुभयो । यो बाटो हुँदै दैनिक सयौँ तीर्थयात्री वेणीसङ्गम जाने गरेकोमा अब व्यवस्थित मर्मत नगरेसम्म सुचारु गर्न नसकिने उहाँको भनाइ छ । देवघाटमा रहेको गलेश्वर आश्रमसहित यहाँको पुरातात्विकस्थल संरक्षणमा सबैको साथ आवश्यक रहेको उहाँले बताउनुभयो ।

पहिरो नियन्त्रणका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा सङ्घीय सांसद र नेतालाई अनुरोध गर्दा पनि उनीहरुले कुनै चासो नदिएको गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले बताउनुभयो । “आश्रमको कम्पाउण्डसम्मै पहिरो आइसक्यो”, उहाँले भन्नुभयो, “रातमा ठूलो पानी आउँदा हामीलाई पनि निन्द्रा नलाग्ने भइसक्यो ।”

देवघाटधामको इतिहास बोकेको गलेश्वर आश्रमको संरक्षणमा राज्यले चासो नदिएको उहाँको गुनासो छ । पाँच वर्षअघि लाखौँ खर्च गरेर डिपीआर निर्माण गरिएको भए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरेको पीठाधीश ज्ञानानन्द सरस्वतीजीले बताउनुभयो । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>