Breaking News
सरकारले सहुलियत पसलमा तेल र दालको मूल्य घटाए पनि अझै होलसेलमा भन्दा महँगो

काठमाडौँ, असोज ५-
चाडपर्व लक्षित गरेर सञ्चालन गरिएको सहुलियत पसलमा सरकारले खाने तेल र दालको मूल्य घटाएको छ । होलसेलमा भन्दा महँगो परेपछि तेलमा १० रुपैयाँ र मुसुरोको दालमा ८ रुपैयाँ घटाएको हो ।
कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार घटाइएको नयाँ मूल्य मंगलबारबाटै कार्यान्वनयनमा आइसकेको छ । अब सहुलियत पसलमा तोरीको तेल २ सय ७५ रुपैयाँ, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २ सय ८५ र भटमासको तेल २ सय ४० रुपैयाँ पर्नेछ ।
त्यस्तै खाद्य वयवस्था कम्पनीले घटाएको मूल्य पछि पनि सहुलियत पसल बाह्य बजारमा भन्दा तोरीको तेलमा २० रुपैयाँ, सूर्यमुखी तेलमा ४० रुपैयाँ र भटमासको तेलमा १७ रुपैयाँले महँगो छ । मुसुरोको दालको मूल्य भने घटेपछि पनि बाह्य बजारमा भन्दा सहुलियतमा अझै ५ रुपैयाँ प्रतिकिलो महँगो छ ।
यसअघि कम्पनीले लिटरमा ७ रुपैयाँ छुट दिएको भन्दै सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरी २ सय ८० र भटमासको तेल २ सय ४५ रुपैयाँमा बिक्री गरेको थियो । यस्तै कम्पनीले मुसुरोको दालको मूल्य पनि १५३ रुपैयाँबाट घटाएर १ सय ४५ रुपैयाँ तोकेको छ । कम्पनीले उक्त तेल र दाल साल्ट ट्रेडिङबाट खरिद गरेको जनाएको छ ।
असोज १ गते दखि देशभर सञ्चालनमा आएको सहुलियत पसलमा मुसुरोको दाल, तोरी, सूर्यमुखी र भटमासको तेल महँगो पर्न गएको छ ।



























