Breaking News
भारतबाट ल्याइएको अवैध माछा चितवनमा यसरी गरियो नष्ट (फोटोफिचर)

चितवन, असोज ४–
चितवनमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याईएको माछा नष्ट गरिएको छ ।
आज (मंगलबार) विहान पशु क्वारेन्टाइन रामनगर र मत्स्य व्यवसायीहरुको अग्रसरतामा भारतबाट ल्याइएको ५० वटा आइस बक्समा राखिएको २ टन अवैध माछा बरामद गरिएको थियो । सो माछा आज अपरान्ह रामनगरमा जिल्ला प्रशासन, प्रहरीलगायतको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको छ । स्वदेशकै माछा विक्री नभइरहेको अवस्थामा भारतबाट अवैध रुपमा माछा भित्रिन थालेपछि व्यवसायीहरु आफै माछा नियन्त्रणमा लिन थालेका हुन् ।
मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले राज्यलाई ठगेर भारतीय माछा नेपाली बजारमा भित्रिन थालेकाले माछा बरामद गरेर नष्ट गरिएको बताए । ‘अहिले धेरै नै भारतीय माछा भित्रिन थालेपछि हामीले निगरानी बढाएका हौं, अवैध माछाहरु सबै नष्ट गर्छौ’–अध्यक्ष सुवेदीले भने । भारतबाट बोर्डरमा साइकल मार्फत नेपाल भित्र्याएर नेपाली बिल बनाएर माछा काठमाडौँ लैजादै गरेपछि व्यवसायीहरुले माछा बरामद गरेका हुन् ।
भारतीय माछालाई नेपाली माछा भनेर समेत पशु चिकित्सकको हस्ताक्षर दुरुपयोग गरि माछा ल्याउने गरिएको संघले जनाएको छ ।
पछिल्लो समय अवैध रुपमा भारतीय माछा भित्रिन थालेपछि नेपाली माछापालक किसान अहिले समस्यामा परेका छन् ।































