चितवन विशेष

यमबहादुर परियार देशी-विदेशी शक्तिको चङगुलमा परेर पार्टीबाट पलायन भएः रेनु दाहाल

Banner

चितवन,असोज ३-

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रेनु दाहालले माओवादी आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी शक्ति लागि परेको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनको १० औँ जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले माओवादी पार्टीका विरोधी, प्रतिक्रियावादी, वर्गवैरीहरुबाट माओवादी आन्दोलनलाई कमजोर बनाउन प्रहार गर्ने क्रम चलिरहेको उल्लेख गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका चितवन जिल्ला इन्चार्ज र भरतपुर महानगर मेयर समेत रहनु भएका दाहालले केही दिनअघि माओवादी परित्याग गरी एमाले प्रवेश गरेका पार्टीका सहइन्चार्ज यमबहादुर परियार इन्द्रजीत देशी–विदेशी शक्तिको चङगुलमा परेर पार्टीबाट पलायन भएको बताउनुभयो । माओवादीको लामो समय जिल्लाको नेतृत्व सम्हालेका परियार परिवर्तनको विरोधी पार्टीको कित्ता पुगेको कुरा आश्चार्य लागेको दाहालको भनाई थियो । नेता दाहालले परियारलाई २०६४ को संघिय सांसदको टिकट, राज्यमन्त्री सरहको मध्यवर्ती संस्थाको नेतृत्व र पटक–पटक जिल्लाको नेतृत्व गर्न पाउँदा पाउँदै एमाले प्रवेश गर्नु दुःखद विषय भएको उल्लेख गर्नुभयो ।

परियार एमाले प्रवेश गरेसँगै पहिलो पटक यस विषयमा विचार व्यक्त गर्नु भएका दाहालले पार्टीले प्रदेश सांसद र समानुपातिक सांसदको लागि सिफारिस गरेपनि ठूलो प्रलोभनमा परेर निर्वाचनअघि पार्टी परित्याग गरिएको आरोप लगाउनुभयो । यम बहादुर परियारलाई इन्द्रजीत बनाउन पार्टीले र जनताले ठूलो लगानी गर्नु परेको उहाँको भनाई थियो । विगतमा पनि पार्टी परित्याग गरी अन्य पार्टीमा गएपनि पुनः पुरानै पार्टीमा फर्किएर आउने क्रम पनि रहेको बताउनुभयो ।

मंसिर ४ गते हुने संघिय निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ३० हजार बढी भारी मतले विजयी गराउने गरी मैदानमा उत्रन महिला कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । चितवनवासीको माग अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नम्बर ३ बाटै निर्वाचित हुनु होस् भन्ने रहेकाले महिलाहरु चुनावी मोर्चामा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, वागतमी प्रदेशका श्रम तथा रोजगारमन्त्री घनश्याम दाहाल, प्रदेश सांसद कञ्चन खनाल, पार्टीका प्रदेश कोषाध्यक्ष संगिता भट्टराई, नेता निशा न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>