Breaking News
होलसेलमा भन्दा कतिले महँगो छ सहुलियत पसलमा दाल र खाने तेलको मुल्य (सुचीसहित)

काठमाडौँ, असोज ३-
दशैँ तिहार लक्षित गरेर सरकारले सञ्चालनगरेको सहुलियत पसलमा मुसुरोको दाल र खाने तेलको मूल्य बजारमा भन्दा महँगो पर्न गएको छ । असोज १ गते दखि देशभर सञ्चालनमा आएको सहुलियत पसलमा मुसुरोको दाल, तोरी, सूर्यमुखी र भटमासको तेल महँगो पर्न गएको हो । सहुलियत पसलमा भन्दा उ्रक्त पसलमा दाल र तेल १३ देखि ५० रुपैयौँ महँगो पर्न भएको छ ।
खाद्य वस्तुको होलसेल बिक्रेताहरुको संस्था नेपाल खाद्य किनारा व्यवसायी संघका अनुसार सरकारी सहुलियत पसलले मुसुराको दालको मूल्य प्रतिकिलो मूल्य १५३ रुपैयाँ तोकेको छ । यो मूल्य किलोमा ७ रुपैयाँ छुटसहित तोकिएको हो । तर खुल्ला बजारमा दालको मूल्य १४० रुपैयाँ मात्रै रहेको छ ।
त्यस्तै सहुलियत पसलमा तोरीको तेलको मूल्य प्रतिलिटर २८० रुपैयाँ, सूर्यमुखी तेलको मूल्य २९५ रुपैयाँ र भटमासको तेलको मूल्य प्रतिलिटर २४५ रुपैयाँ तोकिएको छ । तर, होलसेल व्यवसायीहरुले बजारमा यी तेलको मूल्य क्रमशः २५०, २४५ र २१८ रुपैयाँ प्रतिलिटर तोकेको छ । जुन तोरीको तेलमा ३० रुपैयाँ, सूर्यमुखी तेलमा ५० रुपैयाँ र भटमासको तेलमा २७ रुपैयाँले सस्तो हो ।
सरकारले शनिबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थामार्फत सहुलियत पसल सञ्चालन गरिरहेको छ । यस्ता सहुलियत पसल ४५ दिन सञ्चालन हुने छ । सहुलियत पसलमा राखिएको अन्य दाल, चामल र चिउरा र गेडागुडीको मूल्य भने बजार मूल्य भन्दा सस्तो छ ।– स्रोतः अनलाइन अबर




























