चितवन विशेष
चितवनकी वरिष्ठ दन्त चिकित्सक थापालाई अन्तर्राष्ट्रिय अवार्ड

चितवन, असोज २–
चितवनकी वरिष्ठ दन्त चिकित्सक डा.सरु थापा अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत भएकी छन् ।
इन्टरनेशनल अवार्ड अफ एक्सिलेन्स इन डेण्टिष्ट्रीद्धारा भारतको चेन्नाईमा भएको एक कार्यक्रममा विपन्न क्षेत्रमा र विपदको समयमा उत्कृष्ट सामाजिक सेवा गरे बापत वरिष्ठ दन्त चिकित्सक डा. सरु थापा न्यौपानेलाई ‘ बेष्ट डेण्टल च्यारिटी अवार्ड २०२२’ बाट पुरस्कृत गरिएको हो । यस अवार्डलाई ‘दन्त चिकित्साको ओस्कार अवार्ड’ भनिन्छ । वेष्ट डेण्टल च्यारिटी अवार्डबाट पुरस्कृत हुन पाउँदा हर्षित भएको डा.थापाले बताइन् । उक्त सम्मान आफ्नो मात्र नभई सम्पूर्ण नेपालीको सम्मान भएको उनको भनाई छ । डा. थापा नारायणगढस्थित साइराम डेण्टलकी प्रमुख हुन् ।
गत वर्ष विश्व दन्त परिषदले डा. थापालाई उत्कृष्ट प्रेरणादायी महिला चिकित्सक घोषणा गरेको थियो। नेपाल दन्त चिकित्सक संघको भोटिङको आधारमा सर्वाधिक मत ल्याउने डा सरुलाई संघले नेपालको प्रतिनिधित्व गरेर पठाएको थियो । दन्त चिकित्सामा बिरामीलाई गुणस्तरीय सेवा, सामाजिक अभियानको सक्रियताको मुल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो । त्यसबेला विश्वका १३३ बढी राष्ट्रहरू सदस्य राष्ट्रहरुबाट उनी उत्कृष्ट घोषित भएकी थिइन् ।
डा. थापा सामाजिक अभियानमा सक्रिय छन् । विकट बस्तीमा स्वास्थ्य शिविरको साथै राहत वितरण गर्दै आएकी छन् । पहाडी भेगमा रहेका चेपाङ बस्तीका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्दै आएकी छन् । उनी विगत १६ वर्षदेखी दन्त चिकित्सा सेवामा सक्रिय छिन् ।

























