Breaking News

सर्वोच्च जाने तयारीमा थिएँ, सरकारले निवासको गेट बाहिरबाट बन्द गरिदियोः चोलेन्द्र

Banner

काठमाडौं,असोज २-

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई सरकारले निवासको गेट बन्द गरेर सर्वोच्च अदालत जानबाट रोकेको बताएका छन् । निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत फर्किने तयारी गरिरहेका बेला सरकारले आफ्नो निवासको गेटबाहिरबाट बन्द गरेर प्रहरी खटाएको बताएका हुन् । ‘सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ । तर, सरकारले निवासमै रोकिदियो । निवासको गेट बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ,’ उनले भने ।

यसअघि जबराले आफू ११ बजे सर्वोच्चमा हाजिर हुने बताएका थिए । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूविरुद्धको महाभियोग प्रस्ताव पनि स्वतः निक्रिय भएको भन्दै सर्वोच्च आउने खबर प्रशासनलाई पठाएका थिए ।

महाभियोग सिफारिस समितिले शनिबार निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउनुपर्ने सिफारिससहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएको थियो । ११ सदस्यीय सिफारिस समितिले बहुमतका आधारमा जबरालाई महाभियोग लगाउनुपर्ने निर्णय गरेको थियो ।

सँगसँगै समितिले विभिन्न ९ वटा आधार र कारण उल्लेख गरी जबरामाथिको महाभियोगको प्रस्ताव पुष्टि हुने निष्कर्ष र सम्पत्ती शुद्धीकरणको विषयमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण विभागलाई सिफारिस पनि गरेको थियो ।

तर, त्यसमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरुले भने फरक मत राखेका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलले महाभियोग प्रस्ताव ६ महिनासम्म होल्ड गरिएको र सिफारिस समितिलाई काम गर्न तीन महिना समय नदिइएको भन्दै प्रश्न उठाए पनि समितिमा उचित जवाफ नआएकाले फरक मत राखिएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>