चितवन विशेष
हिन्दुराष्ट्र घोषणाको माग राख्दै चितवनको नारायणी किनारमा आमरण अनसन

चितवन,असोज १-
श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आव्हानमा नारायणगढस्थित नारायणी नदी किनारमा आमरण तथा रिले अनसन सुरु भएको छ । परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल भारद्वाज आफै अनसन बस्नु भएको छ । उहाँले सनातन हिन्दुराष्ट्र घोषणाका लागि दबाब दिन आमरण अनसन सुरु गरेको बताउनुभयो । उहाँ यसअघि दुईपटक सम्म आमरण अनसन बसिसक्नुभएको छ ।
तीव्र रुपमा धर्मान्तरण भएको र संस्कार–संस्कृतिको संरक्षणमा राज्य उदाशिन बनेको उहाँको भनाई छ । भारद्धाजकै अगुवाईमा २०७६ सालदेखि नारायणी नदी किनारमा आरती हुदै आइरहेको छ । रिले अनसनमा सनातन संस्कृति संरक्षणका अभियन्ताहरु, सर्वसाधरणहरु समेत सहभागिता हुने जनाइएको । अनसनको भारत गोरखपुरको नाथ अखडाका पिठाधिस शिवनाथ योगीले शुभारम्भ गर्नुभयो ।
सो अवसरमा झापाका व्यासाचार्य किशोर गौतम, योगी नरहरीनाथ मृगस्थली आश्रम काठमाण्डौका संरक्षक योगी बेघ्र बेधनाथ,आचार्य जगन्नाथ कँडेल, देवघाटधामका पिठाधिसहरु लगायतको सहभागिता रहेको थियो । राष्ट्रिय स्तरका ६ र स्थानीय स्तरका ३ सहित ९ बुँदे माग राख्दै अनसन सुरु गरिएको हो ।
सनातन हिन्दुराष्ट्र नेपाल घोषणा हुनुपर्ने, सबै पालिकाहरुमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, राष्ट्रिय सनातन संस्कृति आयोग गठन गर्नुपर्ने, कालीगण्डकीलाई नेपाल सम्पदा र विश्वसम्पदा सूचिमा सूचिकृत गर्नुपर्ने लगायतका मागहरु राखिएका छन् । सनातन–संस्कृति–संरक्षण अभियानमार्फत संविधान जारी हुने बेला १७ दिनसम्म भारद्धाज आमरण अनसन बस्नु भएको थियो । माग पुरा नहुँदासम्म अनसन जारी राख्ने भारद्धाजले बताउनु भयो ।
परिषदले यहि भदौ १६ गते प्रधानमन्त्री कार्यालय काठमाण्डौमा र ३० गते जिल्ला प्रशासन कार्यालय चितवनमा आफ्ना मागसहितको ज्ञापन पत्र बुझाइसकेको छ ।


























