चितवन विशेष
किन धाउँदैछन् काँग्रेस चितवनका नेता प्रचण्ड निवास ?

चितवन,भदौ ३०-
मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनमा अझै अन्तिम सहमती भइसकेको छैन । दलहरुले आ–आफ्नो अडानलाई कायम राख्दा गठबन्धनबारे नेता कार्याकर्तामा अन्योलता नै छ । तर राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रमा रहेको चितवनमा गठबन्धनका नेताहरु लगभग सहमतिमा पुगिसकेको बताएका छन् । नेताहरु टिकट ल्याउने दौडधुपमा छन् । संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखेका काँग्रेस चितवनका सबै जिल्ला नेताहरु यतिवेला काठमाडौं छन् । उनिहरु पार्टीका शिर्ष नेतासंगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत रिझाउन लागि परेका छन् ।
‘काँग्रेस चितवनका नेताहरु प्रचण्डलाई रिझाउन दैनिक रुपमा खुमलटार जाने गरेका छन्’,स्रोतले भन्यो, उनिहरु पार्टीका नेता भन्दापनि प्रचण्डलाई फकाउन व्यस्त छन् ।’ उनिहरुले प्रचण्डलाई चितवनमा संघ, प्रदेश र समानुपातिकमा टिकट दिलाइदिन अनुरोध गर्ने गरेका छन् । कतिपय नेताहरुले भने चितवनमा प्रचण्डलाई चुनाव जित्न गाह्रो हुने भन्दै धम्की समेत दिने गरेका छन् ।
चितवन क्षेत्र नम्वर ३ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्ने पक्कापक्की भइसकेको छ । त्यसबाहेक अन्य क्षेत्र र प्रदेशमा काँग्रेस चितवनका नेताहरुको लविङ छ । प्रचण्डले पनि आफ्नो क्षेत्र सुरक्षित गर्नका लागि काँग्रेसका सबै नेताहरुलाई आश्वासन दिइरहेका छन् । पार्टी सभापति सहित जिल्लाका सबै पदाधिकारी काठमाडौं हुँदा यहाँ पार्टीका गतिविधिहरु भएका छैनन् ।


























