Breaking News

टिकट ल्याउन चितवनका नेताहरुको काठमाडौँमा बास, चितवनमा नेता भेटिनै छाडे

Banner

चितवन, भदौ ३०–

संघ र प्रदेशको निर्वाचनको मिति नजिकिदै गर्दा टिकटका लागि नेताहरुको दौडधुप सुरु भएको छ । दलहरुलाई समानुपातिक उम्मेद्वारको सूची बुझाउन दिएको समय र टिकट छिनोफानो गर्ने दिन नजिकिदै गएपछि जिल्लाका नेताहरुको अहिले संघीय राजधानी काठमाडौँमा दौडधुप चलेको छ ।

चितवनका सबैजसो दलका आंकाक्षी उम्मेद्वारहरु अहिले काठमाडौँमा भेटिन्छन् । जिल्लामा यतिबेला उम्मेद्वार बन्न नचाहने नेताहरु मात्रै भेटिन्छन् । सत्तागठबन्धनभित्र उम्मेद्वरको टिकट हत्याउन जिल्ला नेताहरु केहीदिन देखिनै काठमाडौंस्थित नेताहरुको निवास र पार्टी कार्यालयमा धर्ना दिइरहेका छन् । नेकपा (एमाले) चितवनका नेताहरु यतिबेला सबै काठमाडौँमा छन् ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेसंगै केन्द्रीय सदस्यद्धय देवी ज्ञवाली, जेएन थपलियालगायतका नेताहरु काठमाडौँमै छन् । यस्तै उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, सांसद कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सदस्य पार्वती रावलका नेताहरु पनि काठमाडौंमै छन् । ती नेताहरुकै पहलमा बिहीबार नेकपा (माओवादी केन्द्र) चितवनका पूर्व अध्यक्ष एवं सह–इन्चार्ज इन्द्रजित परियारसहितका नेतालाई पार्टी प्रवेश समेत गराईएको छ ।

नेताहरु यसपटक आफ्नो टिकट पक्का गरेर फर्किने तयारीमा छन् । नेपाली कांग्रेसका सबैजसो जिल्लास्तरका नेताहरु पनि यतिबेला काठमाडौँमा छन् । जिल्ला सभापति राजेश्वर खनालसहितका पदाधिकारी नै यतिबेला काठमाडौँमा रहेको छ । जिल्लामा पदाधिकारीस्तरका नेता भेटिन मुश्किल छ । निवर्तमान सभापति जितनारायण श्रेष्ठ, निवर्तमान सचिव उत्तम जोशी, निवर्तमान सह–सचिव राजन कार्कीलगायतका नेताहरु पनि काठमाडौँमा छन् ।

जिल्लाका एक नेताले भने–‘हामी टिकटको पछि नलाग्ने मात्रै चितवनमा छौं, टिकटका लागि दौडिनेहरु सबै काठमाडौँमा भेटिन्छन् । ’यस्तै नेकपा (माओवादी केन्द्र)का जिल्लाका नेताहरु पनि काठमाडौँमै रहेका छन् । अहिले बागमती प्रदेश कमिटीको बैठक चलिरहेकाले धेरै नेताहरु उतै भेटिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>