Breaking News
जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेका छन्ः प्रचण्ड

काठमाडौं, भदौ ३०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन्। स्थानीय चुनावमा पार्टीभित्र र गठबन्धनबाट प्राप्त शिक्षा र अनुभवसहित मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए।
पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा देशमा आएका परिवर्तनहरूको रक्षा गर्न गाह्रो पर्ने पनि बताए। उनले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताए। ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’ उनले पार्टी एकतावद्ध भई नेताहरू जनताका बीचमा जानुपर्ने पनि बताए। ‘यसो गरियो भने हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुन्छौं,’ उनले भने।


























