चितवन विशेष

वक्तृत्वकलामा स्काइराइडरकी स्वीकृति आचार्य प्रथम

Banner

चितवन, भदौ २९–

कालिका एफएमको आयोजनामा भएको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा स्काइराइडर टाँडीकी स्वीकृति आचार्य प्रथम भएकी छन् । ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा चितवन र नवलपुरका दुई दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नारायणी नमुना माविकस् श्रेर्या आचार्य द्वितीय भइन् । यस्तै नेपाल पुलिस स्कुलका युनिसा थपलिया तृतिय भए । यस्तै प्रोत्साहन पुरस्कार नारायणी इंग्लिस पव्लिक स्कुलका पीयुष दवाडीले हात पारे । प्रथमलाई नगद ८ हजार, द्वितीयलाई ६ हजार, तृतियलाई ४ हजार र प्रोत्सहान पुरस्कार २ हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगिताका प्रमुख अतिथि जिल्ला विकास समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले विजेताहरुलाई शिल्ड, प्रमाणपत्रहरु वितरण गरेका थिए। निर्णायकका रुपमा वीरेन्द्र क्याम्पसका सहप्राध्यापक डा. धनेश्वर भट्टराई, उपप्राध्यापक अर्जुन सापकोटा, बालकुमारी कलेजका सहायक प्राध्यापक लक्ष्मी बराल रहनुभएको थियो ।

बाल अधिकार कार्यान्वयन गर्न सचेत समुदायको खोजी

बाल अधिकारबारे सचेत समुदाय निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कालिका एफएम प्रालिले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजना गरेको अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको उद्घाटनसत्रमा बोल्दै ऐन, कानुनमा भएका अधिकारहरु कार्यान्वयनका लागि नागरिकहरु जागरुक बन्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले बालअधिकारकै बलमा सबल र सक्षम नागरिक बन्न सकिने भएकाले सचेत समुदाय निर्माण गर्न लाग्नुपर्ने बताए। “परिवार सचेत रहे समुदाय, राज्य सचेत बन्छ”, उनले भने, “बाल अधिकारहरु कार्यान्वयन भएमा भविष्यमा देशले सबल र सक्षम नागरिक पाउन सक्छ, त्यसैले अहिल्यैदेखि खबरदारी गर्नुपर्छ ।” उनले बालबालिकाको क्षेत्रमा राज्यले लगानी समेत बढाउनुपर्नेमा जोड दिए । बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाका सवालहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेपाल शिक्षक संघ चितवनका अध्यक्ष हरिप्रसाद कँडेललले बालबालिका क्षेत्रलाई उपेक्षा गर्न नहुने बताए। तीनै तहका सरकारले प्राथमिकता दिएर बालबालिकाको चौतर्फि विकासमा लाग्नुपर्नेमा जोड दिए । नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष तेजेन्द्र भुषाललले बालश्रम, बाल हिंसा अन्त्यका लागि देशव्यापी अभियानहरु चलाउनुपर्नेमा जोड दिए। नेपाल शिक्षक परिषद् चितवनका अध्यक्ष शिवप्रसाद न्यौपानेले बालअधिकार कागजमा मात्रै सिमित गर्न नहुने बताए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले बालबालिकाको क्षमता अभिवृद्धिका लागि स्थानीय सरकारहरु प्रतिवद्ध बन्नुपर्नेमा जोड दिए । माईती नेपाल चितवनका अध्यक्ष, ईश्वर गिरीले अधिकार खोजी र कार्यान्वयनका लागि विद्यार्थीहरु जागरुक बन्दै गएकोमा खुशी व्यक्त गरे । कालिका एफएमका निर्देशक दिपक पौडेलले बालबालिकाको प्रतिभा उजागरका लागि प्रतियोगिता गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>