क्रिकेट

चितवनका गौतम नेपाल टि–२० लिग खेल्ने

Banner

चितवन, भदौ २८–

चितवनका युवा क्रिकेटर गौतम केसी पहिलो सँस्करणको नेपाल टि–२० लिग क्रिकेट खेल्ने भएका छन् । गौतम फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजबाट खेल्न लागेका हुन् । उनी ‘सी’ क्याटेगोरीबाट टिममा अनुबन्धन भएका हुन् । यससंगै गौतमले पहिलो सँस्करणको लागि रु.५ लाख प्राप्त गर्नेछन् ।

नेपाल टि–२० लिगमा छनोट हुने गौतम चितवनका एक्ला खेलाडी हुन् । यसअघि हरि चौहान, दिपेश श्रेष्ठ, कृजन गुरुङ विभिन्न फ्रेन्चाईज लिग खेल्ने अवसर पाएका थिए । यसपटक नेपाल क्रिकेट संघको आधिकारिक र नेपालकै ठूलो लिग खेल्ने अवसर गौतमलाई मात्रै मिलेको हो । गौतम नारायणगढ बेल चोकका हुन् ।

उनी २०७५ सालमा यू–१९ क्रिकेटमा मध्यमाञ्चल कप्तान थिए । उनले प्रधानमन्त्री कप क्रिकेटमा वाग्मती प्रदेशबाट खेलेका थिए । ईपीएलमा चितवन टाइगर्स टिमबाट तेस्रो प्रयास टिममा पर्न सफल भएका थिए ।

गौतम तिव्र गतिका बलर हुन् । उनी व्याटिङ गर्ने क्षमता समेत राख्छन् । ‘नेपालकै ठूलो लिग खेल्ने अवसर पाउनु मेरो लागि सौभाग्य हो, मैले आफ्ने शतप्रतिशत दिनेछु’–खुशी हुँदै गौतमले भने । गौतमको मेहनत र पछिल्लो पटक निरन्तर राम्रो प्रदर्शन गर्दै आएकोले यो अवसर पाउनु सुखद रहेको चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष सुदिप पिया बताउँछन् । ‘चितवनको प्रतिनिधित्व गर्दै गौतम नेपाल टि–२० लिगमा छनोट हुनु हामी सबैका लागि खुशीको कुरा हो, प्रतियोगितामा उनले राम्रो प्रदर्शन गर्नेमा हामी आशाबादी छौं’–कार्यवाहक अध्यक्ष पियाले भने । गौतम केही समय प्रशिक्षणका लागि भारत समेत पुगेका थिए । उनलाई चितवन जिल्ला क्रिकेट संघले प्रशिक्षणका लागि सहयोग गरेको थियो । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गर्दै क्यानले सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म नेपाल टि–२० लिग आयोजना गर्न लागेको हो ।

नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल मार्की खेलाडी रहेको काठमाडौंमा गौतम केसीसंगै लोकेश बम, अविनाश बोहरा, कमलसिंह ऐरी, बसिर अहमद, सौरभ खनाल, अनिल खरेल, सन्दीप रजाइली, सन्तोष कार्की र सुनाम गौतम छन् । काठमाडौको विदेशी प्रमुख खेलाडीमा श्रीलंकाका थिसारा परेरा, सन्डुन विराकोडी र धनञ्जय विराकोडी छन् । मलेसियाका वीरनदीप सिंहले पनि काठमाडौंबाट खेल्ने छन् ।

यसैबीच गौतमलाई भरतपुर गुर्खाजले बधाई दिएको छ । एक कार्यक्रमकाबीच भरतपुर गुर्खाजका प्रमुख सबल पियाले खादा ओढाएर गौतमलाई बधाई दिएका हुन् । नेपाल टि–२० लिग खेल्ने एक्लो खेलाडी भएकोमा खुशी साट्दै गौतमलाई बधाई ज्ञापन गरिएको पियाले बताए । भरतपुर गुर्खाज चितवन प्रिमियर लिग (सीपीएल)को फ्रेन्चाईज टिम हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>