Breaking News

भरतपुरमा दिनदहाडै मनि ट्रान्सफर लुटपाट गर्ने अटो चालक पक्राउ

०
Banner

चितवन, भदौ २८–

गत भदौ २६ गते दिउँसो १ः१५ बजेको समयमा भरतपुर महानगरपालिका–४, स्थित जेम्स वल्र्ड फनपार्क नजिक रहेको नारायणी मनि ट्रान्सफरमा चोरी भयो । दशैको मुखमा दिनदहाडै हातहितयार देखाएर पैसा चोरी भएपछि स्थानीयबासी त्रसित भए । तत्कालै प्रहरीलाई घटना बारे खबर भयो ।

सिसिटिभी फुटेजलगायतको सहायतामा अनुसन्धान गर्दै जाँदा प्रहरीले २४ घण्टा भित्रमै लुटपाट गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भयो । लुटपाटमा संलग्न नवलपरासी घर भई हाल भरतपुर–१६ मा डेरागरि बस्ने ४२ वर्षीय मिनमान सुनारलाई मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्‍यो । प्रहरीले उनको साथबाट चोरी भएको नगदसहित हातहितयार र अन्य सामग्री बरामद गरेको छ ।

‘हामीलाई घटना बारे जानकारी आउना साथ टोली खटाएका थियौं, छोटो समयमै लुटपाटमा संलग्नलाई पक्राउ गर्न सफल भयौं’–जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले भने । उनले चाडबाडको बेलामा चोरी, लुटपाटको घटना बढी हुन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे । उनले यस प्रकारका घटनाहरु हुन नदिन जिल्लामा ७ सय भन्दा बढी प्रहरी फिल्डमा खटाईएको जानकारी दिए ।

अटो चलाउँदै आएका सुनार हातहतियारको डर देखाएर मनि ट्रान्सफरबाट नगद २ लाख ४ हजार २५० रुपैयाँ लुटपाट गरेका थिए । प्रहरीले उनलाई सोमबार दिउँसो १ः३० बजेको समयमा भरतपुरको चौविसकोठीमा अटोमा बसिरहेको अवस्थाबाट पक्राउ गर्न सफल भएको थियो । तत्कालै उनको व्यागबाट प्रहरीले चोरी गरिएको १३ हजार ६०५ रुपैयाँ बरामद गर्‍यो । त्यसलगत्तै उनलाई कोठामा लगेर खनतलासी गर्दा थप १ लाख ६७ हजार रुपैयाँ प्रहरीले बरामद गर्न सफल भयो ।

प्रहरीले उनको साथबाट नगदसंगै धारिलो हतियार दाउ २ थान समेत बरामद गरेको छ । पैसा लुटपाट गर्ने बेला लगाइएको कपडा बरामद गर्न भने प्रहरीलाई समय लाग्यो । सुनारले लुटपाट गरेको दिन लगाएको कट्टु, टिसर्ट, जुत्ता, कालो रंगको मास्क, पञ्जा, कालो हेलमेटलगायत सामान प्रहरीले भरतपुर–२६, सिसैस्थित पानीको घोलभित्र लुकाई रहेको अवस्थामा फेला पारिएको थियो ।

पक्राउ परेका सुनारमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>