Breaking News
ओलीको भविष्यवाणीः माधवको पार्टीले थ्रेस होल्ड कटाउँदैन, माओवादी जेनतेन राष्ट्रिय पार्टी

पोखरा,भदौ २८-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरेका छन्। पोखरामा आयोजित नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै ओलीले ३ प्रतिशत मत ल्याएर समाजवादी पार्टी राष्ट्रिय पार्टी नै बन्न नसक्ने बताएका हुन्। उनले नेकपा माओवादी केन्द्रले भने यस पटकलाई जेनतेन थ्रेस होल्ड पारित गरेर राष्ट्रिय पार्टीको इज्जत जोगाउने बताए।
‘प्रचण्डको पार्टीले थ्रेस होल्ड पार गरेर राष्ट्रिय पार्टीको इज्जत यस पटकलाई जोगाउँछ। माधव नेपालको पार्टीले ३ प्रतिशत मत ल्याएर राष्ट्रिय पार्टी बन्नै सक्दैन । ओलीले भने, ‘चुनावसम्म माधव नेपालसँग खास कार्यकर्ता नै रहँदैनन्। तपाईंहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्या होला नोट गरेर राख्नुस्।’
आम मतदाताले माधव नेपाललाई भोट दिनुपर्ने कुनै कारण नरहेको ओलीको जिकिर छ। २०७३ सालमा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रचण्डलाई उकासेर आफू नेतृत्वको सरकार ढालेको आरोप ओलीले लगाए। ‘तिनै मान्छेले २०७७ मा पार्टी फुटाउने काम गरे’, ओलीले भने, ’अहिले ती चोक्टा खान गएकाहरु झोलमा डुबेर फट्याक फट्याक भएका छन्।’


























