चितवन विशेष

चितवनको कालिका एफ.एमका २०औँ बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक

Banner

चितवन,भदौ २८-

चितवनको कालिका एफएमले २०औं बार्षिकोत्सवका कार्यक्रम सार्वजनिक गरेको छ । एफ.एम परिसरमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलन गरि विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम सार्वजनिक गरिएको हो । स्थापनाकालदेखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ ।

महिनाब्यापी रुपमा आयोजित बार्षिक उत्वसवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा निरन्तर आफ्ना कार्यक्रम र सुचनाहरु प्रसारण गर्दै आईरहेको मिडिया आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने कालिका एफ.एमका निर्देशक दिपक पौडेलले बताउनुभयो ।

विगतमा कालिका मिडियाले भाषा, कला, धर्म, सस्कृतिको क्षेत्रमा गरेका राष्ट्रिय स्तरका बृहत्त कार्यक्रमहरुले भिन्न पहिचान र अस्तित्व निमार्ण गरेको छ । सोको निरन्तरताका लागि यसपाली पनि सोहि अनुरुपका कार्यक्रमहरुको आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो ।

यसबर्ष बार्षिकोत्सवका बेला दशैँ, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तथा प्रतिकुल मौसमका कारण चुस्त दुस्त बनाईएको छ । विगतमा हुँदै आएको म्यूजिक अवार्ड केही महिना पछि गरिने बताईएको छ । बार्षिकउत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरि यसपटक ८ वटा कार्यक्रम तय गरिएको छ । यो बर्ष थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव कार्यक्रम नयाँ कार्यक्रमका रुपमा ल्याइएको छ ।

असोज १ गते देवघाटधाममा रहनुभएका जेष्ठ नागरिक सम्मान गरि बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने निर्देशक पौडेलले जानकारी दिनुभयोे । उहाँका अनुसार, असोज ३ गते संविधान कार्यान्वयन तथा चुनौती विषयक अन्र्तक्रिया, ४ गते थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव, असोज १५ गते बृहत साहित्यिक जमघट कार्यक्रम, २२ गते अन्तर कर्मचारी डण्डिवियो प्रतियोगिता हुनेछ । त्यस्तै दशै बहारः कालिका उपहार कार्यक्रम असोज १० गतेदेखि सुरुभई २२ गतेसम्म सञ्चालन हुनेछ । असोज २६ गते सांगीतिक कार्यक्रम तथा बार्षिकोत्सव समापन समारोह हुनेछ ।

‘आवाजविहीनहरूको आवाज’ बनेर २०५९ सालमा चितवनबाट प्रशारण गर्दै आएको कालिका एफ.एमले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्जबाट २०६४देखि निरन्तर गीतसंगीत प्रशारण गर्दै आएको छ, भने एकता, शान्ति र संस्कारको संवाहकको नारा तय गर्दै विगत ९ वर्षदेखि टिभी कालिका एचडीको प्रसारण गर्दै आएको छ । पछिल्लो पटक समयको मागलाई मध्यनजर गर्दै कालिका न्युज डटकमको अनलाईन समेत सञ्चालनमा छ ।

२००० वाट क्षमताको ट्रान्समिटर र अत्याधुनिक उपकरणबाट प्रशारणमा रहेको कालिका एफ.एम. लाई रेडियो, इन्टरनेट, एप लगायतका माध्यमबाट सुन्न सकिन्छ । प्रविधिको विकाससँगै हाम्रो पात्रो, नेपाली पात्रो लगायतका रेडियो सुन्न मिल्ने विभिन्न एपबाट सहजै रुपमा विश्वका धेरै ठाउँबाट सुन्न सकिने व्यवस्था गरिएको छ । नेपाली सञ्चारमाध्यमहरुमा अनलाइनमा सर्वाधिक श्रोता रहेको रेडियोका रुपमा कालिका अग्रपंक्ति रहेको निर्देशक पौडेलले बताउनुभयो । नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ एक लाख बढी श्रोताले सुन्ने एक मात्र रेडियोका रुपमा कालिका एफएम चिनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>