Breaking News

ओलीको प्रश्नः प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?

Banner

विराटनगर,भदौ २५-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकता विधेयकलाई तनावको विषय बनाएको आरोप लगाएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले पाखुरा देखाएर, तनाव बढाएर समस्या समाधान नहुने बताएका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने विषय उठाएकोबारे ओलीले प्रश्न गरे, ‘प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?’

सत्ता गठबन्धनले बाहिरै बसेर बाहिरै निर्णय गरेर अहंकार देखाएको ओलीको टिप्पणी छ। ओलीले भने, ‘राष्ट्रपतिले पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौँ भनेर पास गरेर उद्दण्डता देखाउने ? यति बेसोमती कुनै सत्ता पक्ष हुन्छ ? यति अहंकारको भाषा बोल्छ ?’ संसद तर्क, बहस र विधि विधानले चल्ने र त्यसैअनुसार अघि बढ्नुपर्ने उनले बताए। सरकारले हरेक कुरामा निहुँ खोज्ने र प्रतिपक्षलाई आरोप लगाएर, भ्रम फिजाएर भोटको राजनीति गर्न खोजेको ओलीको टिप्पणी छ।

उनले भने, ‘संसद भनेको तर्कले, बहसले चल्ने कुरा हो र त्यसका विधि विधान छन्। त्यो विधि विधानअनुसार जानुपर्छ। अहिले सरकारले तनाव बढाउन खोजेको हो। हरेक कुरामा तनाब बढाउने, हरेक कुरामा निहुँ खोज्ने, हरेक कुरामा प्रतिपक्षलाई आरोप लगाएर भ्रम फिजाउने र भोटको राजनीतिक गर्न खोज्ने उनीहरुको तरिका हो।’

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने कुरामा एमाले सहमत रहेको भन्दै सरकारले अहिलेको विधेयक फिर्ता लिएर नयाँ संशोधन ल्याउनु पर्ने ओलीले बताए। उनले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ। वंशजका आधारमा नागरिकता पाउनेछन् भन्ने दुई लाइन संशोधन ल्याए हुन्छ।’ केही व्यक्तिले आफ्नो परिवारका लागि राष्ट्रिय राजनीतिलाई नै बर्बाद पार्न खोजेको उनको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>