खेलकुद

सर्वाधिक धनराशीको ‘चितवन गोल्डकप’ भदौ २५ देखि सुरु हुँदै

Banner

चितवन, भदौ २०–

चितवनमा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘चितवन गोल्डकप’ हुने भएको छ । यही भदौ २५ देखि असोज ३ गतेसम्म नारायणगढस्थित क्याम्पचौरमा चितवन गोल्डकप हुन लागेको हो ।

आयोजक भरतपुर फुटबल क्लवले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । गोल्डकपको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने चितवन गोल्डकपका संयोजक ध्रुव भुषालले जानकारी दिए । उनका अनुसार स्वदेशी तथा विदेशीगरि प्रतियोगितामा १० टिमको सहभागितामा रहने छ ।

प्रतियोगितामा विभागीय टिमहरु मध्ये शसस्त्र प्रहरी बल एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लवले सहभागिता जनाउने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघबाट अनुमति प्राप्त यस प्रतियोगिता आयोजना गर्न कुल ७० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लव र भारतको मोतिहारी फुटबल क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगितामा दर्शकलाई सहज रुपमा खेल हेर्नका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो प्याराफिटमा करिव ४ हजार दर्शक अट्ने संयोजक भुषालले बताए । ‘हामीले खेल मैदानमा पनि स्तरीय बनाउने प्रयास गरेका छौं, दर्शकको सहजताको लागि प्याराफिट निर्माण गरेका छौं, धेरै भन्दा धेरै दर्शक आउनेमा हामी विश्वस्त छौं’–संयोजक भुषालले भने । दर्शकहरुलाई प्रवेशका लागि सेमिफाइनल अघि एक सय र सेमिफाइनलदेखिका खेलहरु हेर्न २ सय रुपैयाँको टिकट व्यवस्था गरिएको भुषालले बताए ।

पत्रकार सम्मेलमा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनालले यसखालका प्रतियोगिताले चितवनको फुटबल विकासमा महत्वपूर्ण योगदान दिने बताए । उनले प्रतियोगितालाई सफल बनाउन आफ्नोतर्फबाट हरतवरले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता हुनु चितवनबासीकै लागि गौरवको विषय रहेको बताए । उनले पछिल्लो समय चितवनमा फुटबल प्रतियोगिताहरु धेरै हुन लागेकोमा खुशी व्यक्त गर्दै ग्रासरुट फुटबल विकासका लागि सबै स्थानीय तह र सहयोगी संस्थाहरुलाई सहयोगका लागि आग्रह गरे । उनले फुटबल विकासका लागि रंगशाला मात्र भएर नहुने भन्दै चितवनमा एउटा मात्रै उत्कृष्ट रंगशाला भए पुग्ने बताए । ‘अहिले सुन्छु धेरै स्थानीय तहले हामी रगंशाला बनाउँछौं भन्छ, तर सबै ठाउँमा रंगशाला भएर मात्रै खेल विकास हुँदैन खेलाडी उत्पादनका लागि सहयोगी बन्नुपर्छ’–अध्यक्ष कार्कीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>