Breaking News
कुलमानले भनेः मैले काठमाडौंमा चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं,भदौ १५-
आगामी मंसिर ४ गतेको चुनावमा आआफ्नो दलको पक्षमा माहौल बनाउन नेताहरू प्रयासरत रहँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको भावना सेन्टिमेन्ट समात्ने गरी उम्मेदवार अघि सार्ने टिप्पणी गरे। त्यसको लगत्तै माओवादी पार्टीभित्रबाटै काठमाण्डूमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलेका छन्।
देशमा लोडशेडिङ् हटाएको र भारतलाई बिजुली निर्यात गरेर प्राधिकरणको वित्तीय स्वास्थ्य दह्रो पारेको जस पाउने घिसिङ स्वयंको सोचाइ चाहिँ के छ ? मैले (चुनाव उठ्ने)बारे केही निर्णय गरेको छैन, घिसिङले भने। चर्चा त विभिन्न चलिराख्छन्। तर मैले निर्णय गरेको छैन।
दोस्रो चार वर्षे कार्यकालका निम्ति घिसिङ एक वर्षअगाडि प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका थिए। अर्थात् उनको अझै तीन वर्षको कार्यकाल बाँकी नै छ। उनलाई दोस्रो पटक पुनः नियुक्त गर्न माओवादी अध्यक्ष प्रचण्ड तथा माओवादी नेता एवं ऊर्जा मन्त्री पम्फा भुसालले नै पहल गरेको देखिएको थियो।
यही साता एक सार्वजनिक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले काठमाण्डू महानगरपालिकामा मेयर पदमा बालेन शाह निर्वाचित हुनुमा जनताको सेन्टिमेन्ट मुख्य कारण रहेको बताए। हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोजिरहेका छौँ, उनले भने।
यसअघिको चुनावमा काठमाण्डूमा माओवादीले एक सिट पनि जितेको थिएन। उनले सोही कार्यक्रम देखा परिरहेका अनुहारहरूले जित्ने स्थिति नदेखिएको भन्दै नयाँ उम्मेदवार ल्याउने सोच रहेको बताएका थिए। तर यसबारे पार्टीभित्र कुनै आधिकारिक छलफल वा निर्णय भने भई नसकेको माओवादी केन्द्रका सचिव दीनानाथ शर्माले बताए।


























