खैरहनी

चितवन १ बाट उम्मेदवार बन्न लागेका स्वर्णिम वाग्लेले, भन्छन्– देशमै बसेर केही गर्छु

Banner

चितवन,भदौ १४-

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले चितवन–१ बाट प्रतिनिधिसभा सदस्य उमेदवारी दाबी गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उमेदवारीका लागि अर्थशास्त्री डा.वाग्लेले आवेदन दिएका हुन् । नेपाली कांग्रेसले केन्द्रबाट गरेको परिपत्र अनुसार निर्वाचन क्षेत्रहरुले उमेदवार बन्न ईच्छुकको आवेदन मागेका थिए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार भएर काम गरी फर्किएका वाग्लेले संसदीय चुनाव लड्ने निर्णयसहित उम्मेदवारीका लागि आवेदन दिका हुन् । “मैले आठ वर्षअघि विश्व बैंकको जागिर छोडेर राष्ट्रिय योजना आयोगको सदस्य भएपछि स्वदेशमै बसेर राजनीति गर्ने निर्णय लिएको हुँ,” डा. वाग्लेले भने, “बीचको एक डेढ वर्ष मैले प्रधानमन्त्रीसहित कांग्रेस शीर्ष नेताको सल्लाहमा विशेष जिम्मेवारी सम्हाल्नेगरी न्युयोर्क गएको थिएँ ।”

उनले विगतमा आर्थिक र योजनाका क्षेत्रमा राजनीतिक नेतृत्वसँग जोडिएर काम गरे पनि अब भने पूरै राजनीतिमा जानेगरी उमेदवारीको आवदेन दिएको जानकारी दिए । चितवन–१ बाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेरिरहेका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका बहालवाला उपाध्यक्ष विश्वनाथ पौडेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थराज खनियाँ, नेता राजेन्द्रप्रसाद बुर्लाकोटी र भीमप्रसाद थपलियाले पनि उमेदवार बन्न आवेदन दिएका छन् ।

निवेदन दर्ताका लागि आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको थियो । क्षेत्रीय समितिले बुधबार दिउँसो प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक सबै नेताहरुसँग छलफल गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>