Breaking News
कांग्रेसको निर्वाचन लक्षित अभियानः ७७ जिल्लामै खटिए प्रतिनिधि, चितवन प्रतिनिधिमा घिमिरे

चितवन, भदौ ७–
नेपाली कांग्रेसले आउँदो संघीय र प्रदेश निर्वाचनलक्षित अभियानका लागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले तीन चरणमा चलाउन लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको हो। भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।
जस अनुसार सर्वाधिक चासोको रुपमा हेरिएको चितवन जिल्लाका लागि केन्द्रले प्रतिनिधिको रुपमा श्यामकुमार घिमिरेलाई पठाएको छ । उनी अभियान सुरु हुनुभन्दा एक दिन अघि चितवन आइपुग्ने छन् । यसपटक चितवन क्षेत्र नं.३ सर्वाधिक चासोको रुपमा हेरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसै क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेपछि कांग्रेस नेताहरुलाई मिलाउन घिमिरेलाई चुनौति पर्नेछ ।
प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ ।


























