Breaking News

जमिन कटान रोक्न भरतपुरको गोलाघाटमा बाँस रोपियो, नदी तटबन्धनले अझै पूर्णता पाएन

०
Banner

प्रतिमा कुमाल,
चितवन, भदौ ४–

नारायणी नदीको कटान रोकथाम गर्न भन्दै भरतपुर–२८ नदी किनार वरपर बाँसको बिरुवा रोपिएको छ ।नदीले जमिन कटान गरी बस्तीसम्म आइसकेको अवस्थामा गोलाघाट गुम्बा चोकदेखि राप्ती नदी किनारसम्म बिरुवा रोपिएको हो । १२ सय मिटर क्षेत्रमा १० फिटको दूरीमा धनु जातको ७ सय बाँसका बिरुवा रोपिएको छ ।

भरतपुर–२८ का वडाध्यक्ष डण्डपाणि रिजालले बाँस रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । नदी किनारमा गरिएको तटबन्धन खोला बढेसंगै कमजोर र भत्किदै गएको उहाँले बताउनुभयो । भएका तटबन्धन भत्किदा स्थानीयमा भए बढेकाले बाँस रोप्न बाध्य भएको उहाँले बताउनुभयो । नदी किनारमा गरिएको बाँस रोपणले नदी कटानलाई रोक्न केहि मद्दत पुग्ने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, ‘बाँसले नदी कटानलाई पूर्णरुपमा रोकथाम त गर्दैन तर केहि सहयोग पुग्नेमा विश्वास छ ।’ बाँसले पानीको बहावलाई कम गर्छ । हाल नारायणी तटबन्धनका लागि आवश्यक बजेट परेकाले सधै यो समस्या र त्रास अब विस्तारै घट्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष रिजालले वर्षा र बाढीको समय रहेकाले स्थानीयको जनधनको सुरक्षाका लागि आफू सजक रहेको बताउनुभयो ।

भरतपुर–२८ का पूर्व वडाध्यक्ष आशबहादुर कुमालले नारायणी नदीको कटानबाट जोगिन नारायणगढदेखि गोलाघाटसम्म दीर्घदृष्टिकोण बन्नु अनिवार्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नारायणीमा आउने बाढीको कारण भरतपुर–२६, २७, २८ अर्थात् पश्चिम चितवनको भविष्यनै धरापमा छ । मेघौली आसपास र हवाई मैदानलाई पनि प्रत्यक्ष असर परेको छ । गोलाघाटको मात्र नभई नारायणी नदीले भगडी, दिव्यनगरको विशाल उर्बरभूमि समेत कटान गरेको छ । दीर्घकालिन योजना छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन आवश्यक छ ।’

दक्षिणबेल्ट राप्ती विपद् व्यवस्थापन समितिका अध्यक्ष तारा मास्केले यहाँका किसानले वर्षभरि खान रोपेको धानखेती जोखिममा पर्ने गरेको गुनासो गर्नुभयो । बाढीले जमिन कटानसँगै खेतीको नास गर्दासमेत सरोकारवाला निकायले क्षतिपूर्ती दिन नसकेको उहाँको भनाइ छ । गतवर्ष बेमौसमी वर्षाका कारण धान भित्र्याउने समयमा आएको बाढीले त्यहाँका धेरै किसानको धान नष्ट भएको थियो । अहिलेसम्म उनीहरुले राहत पाएका छैनन् ।विपद् व्यवस्थापन समिति भरतपुर–२८ का सचिव प्रेम नारायण अधिकारीले नारायणगढदेखि गोलाघाटसम्मै तटबन्धन भएमात्र यहाँका बासिन्दाले नदीको कटानबाट उन्मुक्ती पाउने बताउनुहुन्छ । बाँसको बिरूवा हुर्किएपछि खोलाको कटान कम हुने उहाँको अपेक्षा छ ।

स्थानीय सुनमाया कुमाललाई भने बाँस रोपाईले नदी किनार बासिन्दाको समस्या समाधान हुनेमा शंका छ । बाँस कहिले हुर्कने र माटोलाई कसिलो बनाउने भन्नेमा दुबिधा रहेको बताउनुभयो । नदी किनारका बासिन्दा सरोकारवालाका लागि आउने फोटो खिच्ने, भोट बटुल्ने माध्यम भएको कुमालले गुनासो गर्नुभयो ।


२०१९ सालदेखि गोलाघाटमा बसोबास गर्दै आउनु भएका स्थानीय हेमन सिंह कुमाललाई त्यसबेला घरबाट नारायणी नदीसम्म पुग्न झण्डै २ घण्टा लाग्थ्यो । अहिले भने सोही नदी घर छेउमै पुगि सकेको कुमाल बताउनुहुन्छ । समयमा नै ध्यान नदिँदा नदीले बर्सेनी सयौँ बिघा खेतीयोग्य जमिन बगर बनाएको उहाँले बताउनुभयो । वर्षा सुरू भएसंगै यहाँका स्थानीयलाई घरखेत जोगाउन मुस्किल भएको उहाँको भनाइ छ ।

उत्तरी बेल्ट नारायणी विपद् व्यवस्थापन समिति, दक्षिण बेल्ट राप्ती वि.व्य.स र गोलाघाट पश्चिमी बेल्ट वि.व्य.स.को आयोजनामा बाँसका बिरुवा रोपिएको थियो । वडा कार्यालय भरतपुर–२८, वन उपभोक्ता समिति साविक वडा नं–१, २ र मेघौली मध्यवर्ती उपभोक्ता समितिको सहकार्य रहेको थियो । यस कार्यमा मेड नेपालको प्राविधिक र एल.डब्लु.एफको आर्थिक सहयोग रहेको थियो । बाँसको बिरुवा प्रति गोटा २५० रुपैयाँ लागत परेको छ । सयौँको संख्यामा स्थानीयहरु वृक्षरोपणमा स्वतःस्फूर्तरुपमा सहभागी भएका थिए ।

नारायणी नदीमा तटबन्ध गर्न थालिएको दशक पुगेको छ । आर्थिक वर्ष ०६६÷६७ मा ‘जनताको तटबन्ध’ योजना सुरू भएदेखि नै नदीमा तटबन्ध गर्ने कामअन्तर्गत कार्यालय स्थापना समेत गरिएको थियो । नदी तटबन्धको काम सोही बेलादेखि सुरू भएपनि हालसम्म पुरा हुन सकेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>