Breaking News

जमिन कटान रोक्न भरतपुरको गोलाघाटमा बाँस रोपियो, नदी तटबन्धनले अझै पूर्णता पाएन

Banner

प्रतिमा कुमाल,
चितवन, भदौ ४–

नारायणी नदीको कटान रोकथाम गर्न भन्दै भरतपुर–२८ नदी किनार वरपर बाँसको बिरुवा रोपिएको छ ।नदीले जमिन कटान गरी बस्तीसम्म आइसकेको अवस्थामा गोलाघाट गुम्बा चोकदेखि राप्ती नदी किनारसम्म बिरुवा रोपिएको हो । १२ सय मिटर क्षेत्रमा १० फिटको दूरीमा धनु जातको ७ सय बाँसका बिरुवा रोपिएको छ ।

भरतपुर–२८ का वडाध्यक्ष डण्डपाणि रिजालले बाँस रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । नदी किनारमा गरिएको तटबन्धन खोला बढेसंगै कमजोर र भत्किदै गएको उहाँले बताउनुभयो । भएका तटबन्धन भत्किदा स्थानीयमा भए बढेकाले बाँस रोप्न बाध्य भएको उहाँले बताउनुभयो । नदी किनारमा गरिएको बाँस रोपणले नदी कटानलाई रोक्न केहि मद्दत पुग्ने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, ‘बाँसले नदी कटानलाई पूर्णरुपमा रोकथाम त गर्दैन तर केहि सहयोग पुग्नेमा विश्वास छ ।’ बाँसले पानीको बहावलाई कम गर्छ । हाल नारायणी तटबन्धनका लागि आवश्यक बजेट परेकाले सधै यो समस्या र त्रास अब विस्तारै घट्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष रिजालले वर्षा र बाढीको समय रहेकाले स्थानीयको जनधनको सुरक्षाका लागि आफू सजक रहेको बताउनुभयो ।

भरतपुर–२८ का पूर्व वडाध्यक्ष आशबहादुर कुमालले नारायणी नदीको कटानबाट जोगिन नारायणगढदेखि गोलाघाटसम्म दीर्घदृष्टिकोण बन्नु अनिवार्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नारायणीमा आउने बाढीको कारण भरतपुर–२६, २७, २८ अर्थात् पश्चिम चितवनको भविष्यनै धरापमा छ । मेघौली आसपास र हवाई मैदानलाई पनि प्रत्यक्ष असर परेको छ । गोलाघाटको मात्र नभई नारायणी नदीले भगडी, दिव्यनगरको विशाल उर्बरभूमि समेत कटान गरेको छ । दीर्घकालिन योजना छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन आवश्यक छ ।’

दक्षिणबेल्ट राप्ती विपद् व्यवस्थापन समितिका अध्यक्ष तारा मास्केले यहाँका किसानले वर्षभरि खान रोपेको धानखेती जोखिममा पर्ने गरेको गुनासो गर्नुभयो । बाढीले जमिन कटानसँगै खेतीको नास गर्दासमेत सरोकारवाला निकायले क्षतिपूर्ती दिन नसकेको उहाँको भनाइ छ । गतवर्ष बेमौसमी वर्षाका कारण धान भित्र्याउने समयमा आएको बाढीले त्यहाँका धेरै किसानको धान नष्ट भएको थियो । अहिलेसम्म उनीहरुले राहत पाएका छैनन् ।विपद् व्यवस्थापन समिति भरतपुर–२८ का सचिव प्रेम नारायण अधिकारीले नारायणगढदेखि गोलाघाटसम्मै तटबन्धन भएमात्र यहाँका बासिन्दाले नदीको कटानबाट उन्मुक्ती पाउने बताउनुहुन्छ । बाँसको बिरूवा हुर्किएपछि खोलाको कटान कम हुने उहाँको अपेक्षा छ ।

स्थानीय सुनमाया कुमाललाई भने बाँस रोपाईले नदी किनार बासिन्दाको समस्या समाधान हुनेमा शंका छ । बाँस कहिले हुर्कने र माटोलाई कसिलो बनाउने भन्नेमा दुबिधा रहेको बताउनुभयो । नदी किनारका बासिन्दा सरोकारवालाका लागि आउने फोटो खिच्ने, भोट बटुल्ने माध्यम भएको कुमालले गुनासो गर्नुभयो ।


२०१९ सालदेखि गोलाघाटमा बसोबास गर्दै आउनु भएका स्थानीय हेमन सिंह कुमाललाई त्यसबेला घरबाट नारायणी नदीसम्म पुग्न झण्डै २ घण्टा लाग्थ्यो । अहिले भने सोही नदी घर छेउमै पुगि सकेको कुमाल बताउनुहुन्छ । समयमा नै ध्यान नदिँदा नदीले बर्सेनी सयौँ बिघा खेतीयोग्य जमिन बगर बनाएको उहाँले बताउनुभयो । वर्षा सुरू भएसंगै यहाँका स्थानीयलाई घरखेत जोगाउन मुस्किल भएको उहाँको भनाइ छ ।

उत्तरी बेल्ट नारायणी विपद् व्यवस्थापन समिति, दक्षिण बेल्ट राप्ती वि.व्य.स र गोलाघाट पश्चिमी बेल्ट वि.व्य.स.को आयोजनामा बाँसका बिरुवा रोपिएको थियो । वडा कार्यालय भरतपुर–२८, वन उपभोक्ता समिति साविक वडा नं–१, २ र मेघौली मध्यवर्ती उपभोक्ता समितिको सहकार्य रहेको थियो । यस कार्यमा मेड नेपालको प्राविधिक र एल.डब्लु.एफको आर्थिक सहयोग रहेको थियो । बाँसको बिरुवा प्रति गोटा २५० रुपैयाँ लागत परेको छ । सयौँको संख्यामा स्थानीयहरु वृक्षरोपणमा स्वतःस्फूर्तरुपमा सहभागी भएका थिए ।

नारायणी नदीमा तटबन्ध गर्न थालिएको दशक पुगेको छ । आर्थिक वर्ष ०६६÷६७ मा ‘जनताको तटबन्ध’ योजना सुरू भएदेखि नै नदीमा तटबन्ध गर्ने कामअन्तर्गत कार्यालय स्थापना समेत गरिएको थियो । नदी तटबन्धको काम सोही बेलादेखि सुरू भएपनि हालसम्म पुरा हुन सकेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>