चितवन विशेष

भरतपुरको विकासका लागि म रोकिने छैन, थाक्ने पनि छैनः रेनु दाहाल

Banner

चितवन,साउन ९-

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासका लागि निरन्तर अघि बढिरहेको बताउनुभएको छ । भरतपुर आँखा अस्पतालले सोमवार आयोजना गरेको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ) हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकास द्रूत गतिमा अघि बढेको बताउनुभयो । भरतपुरलाई देशको नमुना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित लागिपरेको उहाँको भनाइ थियो । ‘हामी कहिले पनि थाकेका छैनौँ’, उहाँले भन्नुभयो, ‘निरन्तर गतिका साथ अघि बढेका छौँ । थाक्नेवाला पनि छैनौँ । रोकिनेवाला पनि छैनौँ । विकासका लागि सकेको कोसिस गरिराखेका छौँ । लागिपरेका छौँ ।’

मेयर दाहालले भरतपुर विमानस्थल विस्तार गर्न बनेको कार्यदललाई १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिनुभयो । त्यस्तै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामलाई अगाडि बढाउन कार्यदल बन्दै गरेको र कार्यदलले २१ दिनभित्र प्रतिवेदन बुझाउने उहाँको भनाइ छ । यी दुवै कामलाई अगाडि बढाउन मन्त्रिपरिषदबाट निर्णय गर्ने गरी काम अघि बढेको मेयर दाहालले उल्लेख गर्नुभयो ।

भरतपुरबाट अबको केही समयमा विषेशज्ञसहितको स्वास्थ्य सेवा लिन स्वदेशबाट मात्रै नभइ छिमेकी देशबाट पनि बिरामी आउने सम्भावना बढेको उहाँको धारणा थियो । ‘भरतपुरमा दुई ठूला मेडिकल कलेज, भरतपुर केन्द्रीय अस्पताल, दक्षिण एसियामा सेवा दिने क्यान्सर अस्पताल र ठूला निजी अस्पतालहरू रहेका छन्, अब केन्द्रीय शिक्षक अस्पताल, आयुर्वेद अस्पताल र प्राकृतिक चिकित्सालय निर्माण भएपछि सबै सेवा भरतपुरबाट पाइन्छ’, मेयर दाहालले भन्नुभयो ।

भरतपुर आँखा अस्पतालले विशेषज्ञ र गुणस्तरीय सेवा प्रवाह गरी प्राप्त गरको अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेसँगै थप चुनौती र जिम्मेवारी थपिएको उहाँको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>