Breaking News
फेरि निरंकुश राजतन्त्र फर्काउन संघीयता खारेज गर्ने विषय ल्याइयोः प्रचण्ड

काठमाडौं,असार ३०-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय केही नेताहरुले संघीयता खारेज हुनुपर्छ भनिरहेको भन्दै उक्त कदम निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका छन्। नेपाल विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति बहस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले संघीयतालाई खारेजी नभइ व्यवस्थित र मजबुद बनाउनु पर्नेमा जोड दिए।
‘आज भोलि केही नेताहरु संघीयता खारेज गर्नुपर्छ भनेर बोलिरहेका छन्, त्यो भनेको निरकुशं राजतन्त्रकै दिशामा फेरी जाने भन्ने हो,’ प्रचण्डले भने,‘स्थानीय र प्रदेश सरकारलाई अझ व्यवस्थित र मजबुद बनाउनुपर्यो। प्राकृतिक स्रोत साधनमाथी जनताको हक अधिकारलाई सुनिश्चित गर्नेतर्फ केन्द्रीत हुनुपर्छ।’
उनले परिवर्तनका लागि अझै लडाइ जारी रहेको भन्दै सबै राजनीतिक पार्टीका नेताहरु सबै उस्तै छन् भनेर नकारात्मक कुरा गर्ने काम बढी भएको समेत बताए। प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुनु जरूरी रहेको बताए। ‘आन्दोलन नयाँ सृष्टि गर्नका लागि एउटा बल गर्नुपर्ने हुन्छ। वैज्ञानिक विचार राख्ने भनेका कम्युनिष्ट नै हुन्। हिजो कम्युनिष्ट एकता गराएकै हो। वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्ट एक ठाउँमा हुनैपर्छ,’ उनले भने,‘हिजो प्रस्तावक म थिए भोलि पनि मै प्रस्तावक हुन्छु भन्ने लागेको छ।’


























