चितवन विशेष

चितवनमा झण्डै ५ करोडको लागतमा सरकारी वकिल कार्यालय निर्माण

Banner

चितवन,असार ३०-

महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायिक क्षेत्रबीच समन्वय जरुरी रहेको बताउनुभएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनको नवर्निमित भवनको बुधबार उद्घाटन समारोहमा उहाँले न्यायिक कार्यालयबीच एक अर्कामा समन्वय र सहयोग हुन जरुरी रहेको बताउनुभएको हो । सरकारी वकिल कार्यालय, प्रहरी र अदालतबीच समन्वय हुन नसके न्याय निरुपणमा समस्या आउने उहाँको भनाइ थियो । अहिले न्यायालयप्रति जनताको आस्था कमजोर बन्दै गएकाले यसलाई जोगाउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।

पीडितले न्याय माग्न आए इन्कार गर्न नहुने उहाँले बताउनुभयो । अनुसन्धान फितलो हुँदा अभियोजनमा असर पर्ने भन्दै खातीले यसले न्यायमा समेत असर पर्ने बताउनुभयो । जनशक्तिको अभावका कारण छिटोछरितो न्याय दिन नसकिएको उहाँको भनाइ छ । उहाँले अहिलेको समयमा एक न्यायाधीश बराबर दुई जना सरकारी वकिल आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा नायब महान्यायाधिवक्ता कृष्णजीवि घिमिरेले भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जनशक्ति अभाव छ, यसलाई चाँडै नै पूरा गर्ने तयारीमा लागेका छौँ ।’ जिल्ला न्यायाधीश हेमन्त रावलले अहिले न्याय निरुपणका क्रममा प्रतिकूल बकपत्र समस्याको रुपमा रहेको बताउनुभयो ।

पीडित असुरक्षित हुँदा प्रतिकूल बकपत्र आउने गरेको उहाँले बताउनुभयो । पीडित र आवश्यक प्रमाणको संरक्षण गरी न्याय क्षेत्रमा लाग्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उच्च अदालत हेटौँडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठ, सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता महेश खत्री, चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारी लगायतले बोल्नुभएको थियो ।

विसं २०७६ माघ १४ गते शिलन्यास गरिएको सो कार्यालय भवनको बुधबार उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका–१० मा १० कठ्ठा जग्गामा तीन तले भवन निर्माण गरिएको हो । रु चार करोड ९८ लाख ७१ हजार १४१ रकम बोलपत्र कबुल गरी हनुमान कन्ट्रक्सनसँग सम्झौता भई निर्माण सम्पन्न गरिएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>