Breaking News
विश्वकप क्रिकेट लीग २ः स्कटल्याण्डविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौँ, असार २९–
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।
टिटवुड ग्लासगोमा स्कटल्याण्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । ३ रन आवश्यक रहेको बेला उपकप्तान रोहित पौडेलले चौका प्रहार गर्दै नेपाललाई जित दिलाए । रोहितले ३१ बलमा ३४ रन बनाउँदै अविजित रहे । नेपालको जितमा ओपनर आशिफ शेखले ७१ रनको अर्धशतकीय पारी खेले । उनले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेलले २७ रन बनाए । २८ बल खेलेका कुशलले ४ चौका प्रहार गरे । यी दुईले ४७ रनको ओपनिङ साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।
यस्तै तेस्रो नम्बरमा व्याटिङमा आएका देव खनाल ४, दीपेन्द्र सिंह ऐरीले ३ र आरिफ शेख १ रनमा आउट भए । नेपालले ७७ रनमो दोस्रो विकेटको रुपमा देवलाई गुमाएको थियो । १२५ रन पुगेको अवस्थामा नेपालले तेस्रो विकेटको रुपमा आशिफ शेखलाई गुमाउन पुग्यो । जितका लागि २० रन मात्रै आवश्यक छदा नेपालले लगातार दुई विकेटको रुपमा दीपेन्द्र र आरिफलाई गुमाएको थियो ।
स्कटल्याण्डका लागि अलराउण्डर प्रदर्शन गरेका गेभिन मेनले ८ ओभरमा ४६ रन खर्चिदै महत्वपूर्ण ३ विकेट लिए । उनले नेपालका दुवै ओपनरलाई आउट गर्नुको साथै दीपेन्द्रलाई आउट पारेका थिए । उनले व्याटिङतर्फ ६४ रनको अर्धशतकीय पारी खेलेका थिए ।
यसअघि तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीले उत्कृष्ट बलिङ गरेपछि स्कटल्याण्ड नेपाली बलरसामु निरिह सावित बन्यो । ९५–९ को अवस्थामा पुगेको स्कटल्याण्डलाई मेन र हमजा ताहिरले ४९ रनको साझेदारी गर्दै मध्यम अवस्थामा पुर्याएका थिए । स्कटल्याण्डका लागि गेभिन मेनले भने सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले । अन्य कुनै पनि व्याटरले २० रन कटाउन सकेनन् । स्कटल्यान्ड ४२.४ ओभरमा अलआउट आउँदै १४४ रन मात्रै बनाउन सक्यो । उसका लागि मार्क वाटले १७, सफायान शरीफले १६ रन बनाए । दुवै ओपनर काइल कोट्जर ६ र म्याथ्यू क्रसलाई २ रनमै सोमपाल कामीले आउट गरेपछि स्कटल्याण्डको पारी संकटमा फसेको थियो ।
नेपालका लागि सोमपाल कामीले १० ओभरमा ४० रन खर्चिदै ३, मोहम्मद आदिल आलमले १० ओभरमा एक मेडन र ३१ रन खर्चिदै ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा एक मेडन र ३५ रन खर्चिदै २ विकेट लिए । करन केसीले ८ ओभरमा २४ रन खर्चिदै एक विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १.३ ओभरमा २ रन खर्चिदै एक विकेट लिए । उनले ४९ रनको साझेदारी गरेको अन्तिम विकेट दिलाएका थिए ।
आजको जीतसंगै नेपाल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यसै सिरिजको पहिलो खेलमा नामिबियासंग पराजित भएपछि अंक तालिकाको छैटौं स्थानमा झरेको थियो ।



























