Breaking News

टियुको परीक्षामा फेरि लापरवाही, प्रश्नपत्र हुबहु भएपछि आजको परीक्षा फेरि रद्द

Banner

चितवन, असार २५–

अहिले त्रिभुवन विश्वविद्यालय अन्तरगतको बीबीए छैटौं सेमेस्टरको परीक्षा जारी छ । चितवनसहित देशैभरका क्याम्पसहरुमा परीक्षा भइरहँदा विद्यार्थीहरु भने पटक–पटक मानसिक पिडा भोग्न बाध्य भएका छन् । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र छपाईमा लापरवाही गरेपछि विद्यार्थीहरु मर्कामा परेका छन् । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा शनिबार नेप्लीज सोसाईटी एण्ड पोलिटिक्स (एसओसी २०२) विषयको परीक्षा हुँदै थियो । तर परीक्षामा विषय अनुसार प्रश्न आउनुको साटो पाँचौं सेमेस्टरको सोसियोलोजी प्रश्न आएपछि परीक्षा एक घण्टा बढी रोकियो ।

अन्योलमा रहेको क्याम्पस प्रशासन पुनः अर्को प्रश्नपत्र मगायो । तर त्यो पनि काठमाडौंको शंकरदेव क्याम्पसको प्री बोर्ड परीक्षामा आएको प्रश्नसंग हुबहु मेल खाएपछि अन्ततः डिन कार्यालयले विशेष कारण जनाउँदै आजको परीक्षा रद्द गरेको परीक्षार्थी सुवास काफ्लेले जानकारी दिए । ‘एक पटक होइन दुई पटकसम्म यस्तै भयो, कहिलेसम्म हामी विद्यार्थीहरुले मानसिक यातना सहनु पर्ने, टियुले गल्ती गर्दै जाने हामी चाँही दुःख भोग्दै जाने अब यस्तो हुन सक्दैन’–आक्रोशित भएका विद्यार्थी काफ्लेले भने ।

यसअघि असार २२ गतेको परीक्षा पनि हुबहु अरुसंग मिल्ने भएपछि टियुले अर्को मितीमा परीक्षा तोकेको छ । अर्गनाइजेशन बियाभियर विषयको परीक्षामा मोर्डन इन्टरनेशनल कलेज काठमाडौंको प्री बोर्ड परीक्षाको विषयसंग प्रश्नपत्र मेलखाएपछि टियुले परीक्षा नै रद्द गरेर साउन १ गतेको लागि सारेको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा.दयाराम पौडेलले प्रश्नपत्र गल्ती हुनुमा त्रिभुवन विश्वविद्यालयको गम्भिर गल्ती रहेको बताए । ‘यो घटनालाई विश्वविद्यालयले तत्काल छानविन गर्नुपर्छ, को दोषी हो कसरी भयो भन्ने प्रयाप्त जानकारी सबैलाई दिनुपर्छ’–क्याम्पस प्रमुख पौडेलले भने । प्रश्नको व्यवस्थापन गर्ने पक्षबाट गम्भिर कमजोरीले हुँदा विद्यार्थीले बारम्बार दुःख पाउने काम भएको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि टियुको छबीमा दाग लाग्ने बताए ।

वीरेन्द्र क्याम्पसका नेविसंघ सभापति कुमार जोशीले विद्यार्थीहरुले लगातार दुःख पाईरहेको भन्दै यस घटनामा टियु गम्भिर हुनुपर्ने बताए । कर्मचारीको गल्तीले विद्यार्थीको भविष्य नै अन्योल बन्दै गएको भन्दै यस्तै लापरवाही गर्दै गए नेविसंघ आन्दोलनमा उत्रिने चेतावनी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>