चितवन विशेष

चितवनवासीले लगाएको गुन म कहिल्यै बिर्सन सक्दिनँः रबि लामिछाने

Banner

चितवन,असार २५-

रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) चितवनमा पहिलो जिल्ला भेला गर्दैछ । जिल्ला भेलाका लागि लामिछाने शुक्रबार साँझ चितवन आइसकेका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले शनिबार दिउँसो १२ बजेपछि चितवन जिल्ला भेला हुने बताए । उनले भने, ‘कसरी देशको उज्ज्वल भविष्य कोर्न सकिन्छ त्यसको प्रारुप चितवन भेलाले कोर्नेछ । हामी यहाँ भाषण गर्दैनौँ, नागरिकका कुरा सुन्छौँ । देश निर्माणको रेखा कोर्नेछौँ ।’

हाकिमचोकस्थित चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा हुने भेलामा चितवनका युवापुस्ताको उल्लेख्य उपस्थिति रहने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । लामिछानेका अनुसार आज शनिबार तीन चरणको कार्यक्रम हुनेछ । पहिलो चरणमा नागरिकका कुरा सुन्ने कार्यक्रम रहन्छ । दोस्रो चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला हुनेछ र तेस्रो चरणमा वडा तह र पालिकासम्मको कमिटी बन्नेछ ।

भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा लामिछानेले आफू आगामी चुनावमा कहाँबाट उठ्ने निर्णय गरिनसकेको बताए । उनले भने, ‘अहिले नै म यही ठाउँबाट उठ्छु भनेर कुनै निर्णय गरेको छैन । जान्नेका कुरा सुन्छु, अवस्थालाई राम्रोसँग बुझ्छु । चितवन, काठमाडौँ या अन्य जुनकुनै ठाउँ हुन सक्छ, केही समय अझै प्रतीक्षा गरौँ ।’ चितवनमै जिल्ला भेला आयोजना गर्नुको कारण के हो ? भन्ने संचारकर्मीको प्रश्नमा लामिछानेले भने, ‘यो कुरा देशवासीलाई थाहा भएको हुनुपर्छ, जतिबेला मलाई आपत परेको थियो त्यतिबेला चितवनले मलाई ठूलो गुन लगाएको छ, देशभरका मानिस मलाई आपत पर्दा चितवन आएका थिए । चितवनवासीले लगाएको त्यो गुन म कहिल्यै बिर्सन सक्दिनँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>