Breaking News

भरतपुरमा आजदेखि रोजगार मेला सुरु (फोटोफिचर)

Banner

चितवन,असार २२-

चितवनको भरतपुरमा दुई दिनसम्म चल्ने रोजगार मेला आज बुधबारदेखि सुरु भएको छ । मेलाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले मेलाले जनशक्ति खोजिरहेका उद्योग व्यवसाय र काम खोजिरहेका युवाहरुलाई भेट गराउने काम गर्ने बताउनुभयो । देशमै रोजगारी सृजना गर्न यस प्रकारका मेलाले सहयोग पुर्‍याउने उहाँको भनाई छ । महानगरपालिकाले विकास निर्माण संगै मानव स्रोत साधनको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीति अनुसार चितवनमा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ गरिएको हो ।
मेलाको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । पहिलो दिन मेलामा युवा विद्यार्थीको भीड लागेको छ ।

बुधबार र बिहीबार हुने दुईदिने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाललगायतका एक दर्जन संघसंस्थाले सहकार्य गरेका छन् । भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा सुरु मेलाले जिल्लामा न्यून स्तर र मध्यम स्तरको रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले गरेको छैन । जिल्लामा हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गरिएको सुवेदीले जानकारी दिनुभयो ।

चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो संख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने अपेक्षा राखिएको छ ।

वैदेशिक रोजगारीमा जान चाहानेलाई सीपमूलक तालिम दिने, पालिकाहरुमा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी सिजनल रोजगारी दिने तथा विभिन्न संघ संस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालिमबारे जानकारी दिइने कार्यक्रमका फोकल पर्सन आमोद सुवेदीले जानकारी दिनुभयो । मेलामा ६२ वटा स्टल रहेका छन् ।

जिल्लाका सात वटा पालिका, जब लिंक तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रहरुको स्टल राखिएको आयोजकले जनाएको छ । मेलामा संकलन गरिएको तथ्याङ्कलाई अनलाइनबाटै जानकारी लिन मिल्ने गरी राखिने प्रमुख प्रसाशकीय अधिकृत सुवेदीले बताउनुभयो । मेला अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>