गण्डकी

स्वास्थ्य कार्यालयः जिल्लामौ पहिलो पटक जसले आर्थिक वर्षको काम सक्न मसान्त कुरेन

Banner

बागलुङ, असार २२-

बागलुङमा रहेको स्वास्थ्य कार्यालयमा असार मसान्तको चाप निख्रिएको छ । जिल्लामा नै पहिलो पटक कार्यालयले चालु आर्थिक वर्षमा विनियोजित कार्यक्रम समयमै सकेर फुर्सदिलो बनेको छ । कार्यालयले असार २१ गतेपछि कुनै पनि भुक्तानीका काम नगर्ने जनाएको छ । “हामीले आफ्नो काम निरन्तर गरिरहेका थियौँ र समयमै सक्यौँ, अब किन असार मसान्त कुर्नु,” कार्यालय प्रमुख सुरज गुरौले भन्नुभयो, “हामीले गरेका कामका विषयमा जानकारी गराएका छौँ, अब कुनै पनि कार्यक्रमको भुक्तानी गर्दैनौँ ।”

कार्यालयले आगामी आर्थिक बर्षको नियमित कामको थालनी गर्ने छ । वर्षभरिका काम कारबाही समयमै सकेर पत्रकार सम्मेलनमार्फत जानकारी गराउने स्वास्थ्य कार्यालय पहिलो हो । कोभिड–१९ विरुद्धको खोप, टाइफाइड बिरुद्धको खोप, नियमित खोप, हात्तीपाइले विरुद्धको खोप अभियान र अन्य कार्यालयले सम्पादन गर्ने नियमित तथा आकस्मिक तालिम र रोगहरुको खोजपड्ताल तथा नियन्त्रणका काम भएका गुरौले बताउनुभयो । यो वर्ष कार्यालय परिसरमा खोपहरुको सुरक्षणका लागि कोल्ड रुम स्थापना गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा कार्यालयले प्रदेश सरकारबाट प्राप्त हुने चालुतर्फको रु दुई करोड ९९ लाख ६५ हजारमध्ये दुई करोड १५ लाख ५२ हजार खर्चेको छ । चालुतर्फ ९६ प्रतिशत भौतिक प्रगति गरेको कार्यालयले वित्तीय प्रगति भने ७२ प्रतिशत भएको जनाएको छ । त्यस्तै प्रदेशको पूँजीगततर्फ नौ लाख ५० हजारमध्ये रु नौ लाख ३५ हजार खर्चेको छ । सङ्घीय सरकारबाट प्राप्त भएको चालु खर्च चार करोड ८२ लाख ८१ हजारमध्ये तीन करोड एक लाख खर्च भएको कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>