चितवन विशेष

सप्तगण्डकी क्याम्पसको दोस्रो क्याम्पस सभा सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम पारित

Banner

चितवन, असार १८-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा आज सम्पन्न भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको लागि क्याम्पस सभा सञ्चालन गरिएको हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको क्याम्पस सभामा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले क्याम्पस विद्यानको संशोधन गरियोस् भन्ने प्रस्ताव र क्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसको वार्षिक नीति, कार्यक्रम र बजेट पेस गरेका थिए । दुवै प्रस्तावलाई सभाले सुझाव र परिमार्जनसहित पारित गरेको छ ।

क्याम्पस सभाको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष सापकोटाले क्याम्पसका सबै आर्थिक र शैक्षिक गतिविधिहरु समेट्ने गरी प्रथम क्याम्पस सभा विशेषाङ्क प्रकाशन गरेको बताए । उनले क्याम्पस सभामा क्याम्पसका सबै गतिविधि, इतिहास र दस्ताबेजहरु पुस्तकमार्फत् राख्दा क्याम्पस प्रशासन थप जवाफदेही बन्न बाध्य हुने विचार राखे । उनले भने, ‘ चितवनका शिक्षाप्रेमी अग्रजहरुले निकै मेहनतका साथ स्थापना गरेको सप्तगण्डकी क्याम्पस कुनै एक व्यक्तिको भन्दा पनि देशकै सार्वजनिक सम्पति हो । देशमा निकै प्रतिष्ठित संस्थाको रुपमा स्थापित भइसकेको संस्था भएकोले यस्ता सामाजिक संस्थामा बढी राजनीति भयो भने संस्था धरासायी हुने तर्फ सबै सचेत हुनुपर्छ ।’ कार्यक्रममा क्याम्पस सभाका सभासद् प्राध्यापक डा ध्रुव पोखरेल र क्याम्पसका सल्लाहकार जगन्नाथ थपलियाले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शुभकामनासहित सुझावहरु दिए । कार्यक्रममा संस्थापक क्याम्पस प्रमुख प्राध्यापक डा. भीमराज अधिकारीले सभासद्बाट नीति, कार्यक्रम र बजेटमा उठेका जिज्ञासाहरुको टिपोट गरेका थिए । सभासद्हरुले क्याम्पसको शैक्षिक गुणस्तर बढाउनुपर्ने, प्राध्यापक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने, क्याम्पसमा नयाँ विषयको पठनपाठन सुरु गर्नुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेलगायतका सुझावहरु दिएका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका–१० का वडा अध्यक्ष परमेश्वर खनालले आफूले पनि यही क्याम्पसमा अध्ययन गर्दे विद्यार्थी राजनीति सुरु गरेको बताउँदै क्याम्पसलाई थप व्यवस्थित गर्न प्रभावकारी भूमिका खेल्न चाहेको बताए । उनले भने, ‘पहिले म पढ्ने बेला भन्दा अहिले क्याम्पसले धेरै गति लिएको छ । विद्यार्थीलाई छात्रवृत्ति दिने देखि शिक्षक तथा कर्मचारीको सेवासुविधाको सवालमा क्याम्पसले अझै राम्रो सुधार गर्न बाँकी नै छ । क्याम्पसको विकासको लागि कहाँ गएर के गर्नुपर्छ त्यो गर्न म तयार रहेको छु । तपाइँहरुसँग प्रदेशदेखि मन्त्रालयसम्म जान तयार छु ।’

सप्तगण्डकी बहुमुखी क्याम्पसले आज क्याम्पस सभामा सार्वजनिक गरेको पहिलो क्याम्पस सभा विशेषाङ्क २०५ पृष्ठको रहेको छ । विशेषाङ्कमा क्याम्पसको ऐतिहासिक पृष्ठभूमि, प्राध्यापक तथा कर्मचारीको विवरण, लेखा परीक्षण प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रम, विभिन्न विनियम, विद्यान, आचारसंहिता, निर्देशिका र नियमावलीहरु लगायतलाई समावेश गरिएको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्ष टेकबहादुर थापा संरक्षक रहेको विशेषाङ्कको सम्पादन क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाको संयोजकत्वमा कोषाध्यक्ष मधुर नेपाल, सञ्चालक समिति सदस्य आरसी अधिकारी, क्याम्पस प्रमुख मणिराज महतो, क्याम्पस प्रशासन प्रमुख जगन्नाथ ढकाल, नेपाली विभागकी प्रमुख विन्दु पौडेल वस्ती र आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडी रहेको सम्पादन मण्डलले गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>