चितवन विशेष

भरतपुर ११ मा राजनीतिक शक्तिको आडमा सडक निर्माणमा लापर्बाही

Banner

प्रतिमा कुमाल,

चितवन,असार १७-

भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडको प्रगतिपथ नमूना चोक सडक मापदण्ड विपरित कालोपत्रे गरिएको छ । राजनीतिक पहुँचको आधारमा सडक निर्माण गर्दा मनपरी भएको स्थानीयले आरोप लगाएका छन् ।

चोकदेखि भित्र १८५ मिटरको बाटो नगरप्रहरीको सहभागितामा डिभाइन लाईट कन्स्ट्रक्सनले पिच गरेको हो । सम्झौता अनुसार ६ मिटर चौडाइको बाटो बन्नुपर्नेमा विवादका कारण साढे चार मिटरदेखि पाँच मिटरसम्ममात्रै कालोपत्रे भएको छ । विवाद नभएका ठाउँमा भने मापदण्ड अनुसारको काम भएको छ ।

मापदण्डअनुसार बाटो बन्नका लागि दुवै तर्फका पक्षले ४/४ मिटर बाटो छोड्नुपर्ने थियो । निर्माण भएको सडकबाट एकतर्फका वासिन्दा चार मिटर छोडे पनि अर्कोतर्फका स्थानीयवासीले सो अनुसारको बाटो छाडेनन् । स्थानीय लालु चापागाईले राजनीतिक पहुँचका आधारमा एकतर्फका पक्षले आवश्यक बाटो नदिएको बताउनुभयो ।

पहुँच नभएकाले जग्गामा गरिएको तारबार डोजरले फालिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्को पक्षले चार मिटर दिन्छ भने म पनि दिन्छु । उनीहरुले पहुँचको आधारमा नदिने हो भने हामीलाई पनि दिन आवश्यक छैन । मेरो जग्गा घेराउ गरेको तारबार भत्काउन डोजर लगाए तर अर्को पट्टीको भत्काउनुपर्ने संरचना किन भत्किएन ?’ बाटो निर्माणमा स्थानीयमा देखिएको विवाद नमिलाई निर्माण व्यवसायी र महानगर, वडाले दादागिरी गरेको स्थानीय उपभोक्ता पूजा ढकालको भनाइ छ ।
ढकालले नापजाँच नगरी नगर प्रहरी अगाडि राखेर पिचको काम भएको गुनासो गर्नुभयो । सोझालाई धम्काउने र डर देखाउने काम भएको उहाँले आरोप लगाउनुभयो । यस्तै स्थानीय विकल बानियाले सानालाई थिच्ने र मिच्ने काम भएको बताउनुभयो । कर्मचारीहरु ठूलाका पक्षमा रहेका कारण मापदण्ड अनुसारको काम हुन नसकेको उहाँको भनाइ छ ।

विवादित यस चोकदेखि भित्रको बाटोमा एकातर्फ नेपाली कांग्रेसका नेता प्रेमराज पौडेल र माओवादी नेता एवं गण्डकी प्रदेश सभामुख नेत्रप्रसाद अधिकारीको घर रहेको छ । भरतपुर वडा नं. ११ का वडासदस्य सागर कुमालले भने स्थानीयकै कारण समस्या उत्पन्न भएको दाबी गर्नुभयो । ‘विकास चाहिएको भए दुवै पक्ष मिलेर जानुपथ्र्यो’ उहाँले भन्नुभयो ।

वडाका सब इन्जिनियर किरण न्यौपानेले बाटोको नापीको काममा कुनै शंका गर्नु पर्ने अवस्था नभएको बताउनुभयो । स्थानीयबीच सहजीकरण नहुँदा नै स्थानीयले भनेअनुसार नै पिच गरिएको बताउनुभयो । निर्माणको काम सुरु भएदेखिनै बाटोको विवाद उत्पन्न भएको थियो ।

विवाद समाधान समितिसमेत बनेका थिए । गत पुसको २६ गते टेन्डर प्रक्रिया मार्फत डिभाइनलाई यो ठेक्का परेको थियो । २०७९ जेठ २६ गते यस सडकको काम सकिनु पर्ने थियो । तर, विवादका कारण म्याद थप गरी चालु महिना असार मसान्तसम्म यसको काम सक्न निर्देशन भएको थियो । यस बाटोको ठेक्कापट्टा १८ लाख ७२ हजार ४१० रुपैयाँमा भएको थियो ।

ठेकेदार कम्पनीका प्रकाश तिवारीले साँध सिमानाको द्वन्द्व निकालेर निर्माण व्यवसायीदेखि महानगरलाई समेत असहयोग गरेको आरोप लगाउनुभयो । ‘साँध सिमानामा झगडा गर्ने । एक आपसमा द्वन्द्व भड्काउने काम स्थानीयले गरे । उनीहरुलाई विकास चाहिएको छैन,’ उहाँले भन्नुभयो । अवरोधका कारण महानगरले दिएको डिजाइन भन्दा फरक चौडाई घटाएर पिच गरिएको तिवारीले बताउनुभयो । मापदण्ड अनुरुप काम नहुँदा वर्षामा पानी जम्नुका साथै नाली विस्तारमा समेत समस्या हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>