चितवन विशेष

धान दिवसमा भरतपुरकी मेयर रेनु दाहालले रोपिन् धान

Banner

चितवन,असार १५-

विविध कार्यक्रम गरि चितवनमा १९औँ राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइएको छ । जिल्लामा सरकारी, संस्थागत तथा व्यक्तिगत रुपमा धान दिवस मनाइएको छ । धान दिवसकै अवसर पारेर भरतपुर–९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेडले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर धान दिवस मनाएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमा समेत कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले कृषिमा कृषकहरुलाई अनुदान तथा सिँचाइ सुविधा प्रदान गर्दै आइरहेको बताउनुभयो । भरतपुर महानगरपालिका कृषि, पशुपालन, पोल्ट्रीलगायतको क्षेत्रमा आत्मनिर्भर रहेको उल्लेख गर्दै महानगर प्रमुख दाहालले कृषिका अन्य क्षेत्रमा समेत आत्मनिर्भर बनाउन महानगरपालिकाले विशेष भूमिका खेल्ने बताउनुभयो ।

कृषकहरुलाई प्रोत्साहन गर्नका लागि महानगरपालिकाले दूधमा अनुदान दिइरहेको र आगामी वर्ष अनुदान अझै वृद्धि गर्दै लगिने दाहालको भनाइ छ । सो कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले हरेक वर्ष कृषकहरुले खेती लगाउने बेलामा रासायनिक मलको अभाव खेप्नुपरेको भन्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । केही वर्ष अघिसम्म नेपालले कृषि उत्पादनहरु निर्यात गर्ने देशमा पर्ने गरेको भए पनि अहिले श्रम विदेश निर्यात गरेर खाद्यान्नहरु आयात गर्नुपर्ने अवस्थामा रहेको अधिकारीले बताउनुभयो । धान दिवसको अवसरमा महानगरपालिका प्रमुख दाहालले धान रोपेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । त्यस्तै, धान दिवसमा सहकारीले हिले दौड, अन्तरसमूह रोपाइँ प्रतियोगिता तथा दही चिउरा खाने कार्यक्रम गरेको सहकारीका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>