चितवन विशेष

आँखा उपचारमा सहयोग गर्छौँः पालिका प्रमुखहरू

Banner

चितवन,असार ७-

पालिका प्रमुखहरूले आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेत्रज्योति सङ्घ चितवन शाखाले सोमबार साँझ चितवन र भरतपुर महानगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका जनप्रतिनिधिसँग गरेको कार्यक्रममा उनीहरूले आँखा उपचार आफ्नो पालिकाको कार्यक्रमका रूपमा राखेर अघि बढ्ने बताएका हुन् ।

सङ्घले चितवनका सात पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति चितवनका प्रमुख र उपप्रमुख, नवलपरासीको गैँडाकोट नगरपालिकाका प्रमुख र उपप्रमुख, तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई स्वागत र सम्मानसँगै पालिकाहरूमा आँखा स्वास्थ्य समस्याको वर्तमान अवस्थाका बारेमा जानकारी गराएको थियो । सो अवसरमा विगतदेखि हालसम्म सङ्घले सञ्चालन गरेका आँखा अस्पताल, उपचार केन्द्रहरूसँगै उपस्थित जनप्रतिनिधिका पालिकामा आँखाको अवस्थाका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन र छिमेकी जिल्लाका बिरामीको उपचार गर्दै आएको सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल महानगरको गौरव र गहना भएको बताउनुभयो । आँखा उपचार आफैँमा महत्वपूर्ण भएको भन्दै उहाँले विगतका वर्षमा महानगरले सहयोग गर्दै आएको र आउँदा दिनमा आँखा उपचारका लागि अस्पताललाई थप सहयोग गर्ने बताउनुभयो । निर्माणाधीन भवनलाई रु एक करोड दिन लागिएको जनाउँदै उहाँले थप सहकार्यका लागि महत्वपूर्ण कामहरू केही दिनमा सार्वजनिक गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संस्थापकहरूको योगदान उच्च रहेको जनाउँदै आँखा उपचारमा सबैको साथ र सहयोग जरुरत रहेको बताउनुभयो । अस्पतालले पु¥याएको सेवाका बारेमा आफू जानकार रहेको भन्दै अधिकारीले यसले चितवन र छिमेकी जिल्लाका धेरै बिरामीको उपचार गरेको छ भन्नुभयो ।

खैरहनी नगर प्रमुख शशि खनिया, कालिका नगर प्रमुख विनोद रेग्मी, गैँडाकोट नगर प्रमुख मदनभक्त अधिकारी, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आँखा अस्पतालले हाल गरिरहेको सेवाका बारेमा जानकारी भएको जनाउँदै उपचारका लागि आवश्यक हुने सबै खालका सहयोगका लागि तयार भएको बताउनुभयो । उहाँहरूमध्ये कतिपयले आँखा उपचार केन्द्र स्थापना गर्नका लागि जग्गा, भवन र कर्मचारी पारिश्रमिकमा समेत सहकार्य गर्न सकिने जानकारी दिनुभयो ।

सङ्घका केन्द्रीय सदस्य चिजकुमार मास्केले पालिका प्रमुखहरूले आँखा उपचारको आवश्यकताका बारेमा बुझ्न सकेमा नागरिकलाई रोगबाट मुक्ति दिलाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुल पठाउनुअघि बालबालिकाको आँखा परीक्षण मात्र गरे पनि धेरैको आँखा जोगाउन सकिन्छ ।”

सङ्घका संस्थापक सचिव प्रभातकुमार जोशीले अस्पताल स्थापनादेखि हालसम्म भएका गतिविधिका बारेमा प्रकाश पार्दै सरकारी निकायबाट आशा गरेजति सहयोग हुन नसकेको बताउनुभयो । सङ्घका सभापति कृष्णराज धरेलले सबै पालिकाका प्रमुखहरूलाई आँखा उपचारजस्तो संवेदनशील क्षेत्रमा विशेष ध्यान पु¥याएर सहकार्य गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा पालिकाहरूमा आँखाको अवस्थाका बारेमा अस्पतालका डा रञ्जितकुमार शाहले विस्तृत जानकारी गराउनुभएको थियो । सो अवसरमा सङ्घका सहसचिव केशव अधिकारी र भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनालले आँखा उपचारमा आवश्यक सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।

झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई समेत तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ ।

विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीनवटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतीय नागरिकसहित १२ जिल्लाका बासिन्दाले प्रत्यक्षरूपमा सेवा पाएका छन् ।

अस्पतालले भरतपुर महानगरपालिका–१० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । त्यस्तै चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनीघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराइएको छ भने उपचार केन्द्रमा शल्यक्रियाबाहेकका सेवा दिइँदै आएको छ । गएको असार १५ गते यता जेठ १५ गतेसम्म सेकेण्डरी अस्पताल र आँखा उपचार केन्द्रबाट ४५ हजार ३१० जनालाई सेवा दिइसकिएको छ । भरतपुर आँखा अस्पताल र चिजकुमार विष्णुकुमारी बहिरङ्ग विभागबाट एक लाख चार हजार ६२४ जनालाई सेवा दिइएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।

यसै अवधिमा विभिन्न ठाउँमा गरिएका शिविरमा ५९ हजार १४६ जनाको आँखाको निःशुल्क परीक्षण गरिएको थियो । १११ ठाउँमा एकदिने शिविर र १७ ठाउँमा शल्यक्रियासहितको सर्जिकल शिविर गरिएको उहाँले बताउनुभयो । एक दिन शिविरमा परीक्षणको क्रममा शल्यक्रिया गर्नुपर्नेहरूलाई भरतपुर आँखा अस्पतालमा ल्याएर गरिएको छ । घिमिरेका अनुसार यस वर्ष शिविरहरूमा चार हजार ३४१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>