चितवन विशेष
थारु महिलाहरुलाई ३ महिने निःशुल्क कम्प्युटर तालिम शुरु

चितवन, असार १–
थारु समुदायका महिलाहरुको क्षमता विकास गराई आत्मनिर्भर बनाउन बछौलीमा निःशुल्क कम्प्युटर तालिम संचालन गरिएको छ ।
रत्ननगर नगरपालिकाका थारु समुदायका महिलाहरुका लागि ३ महिने निःशुल्क कम्प्युटरको आधारभूत तालिम बुधबारबाट शुरु भएको हो । थारु साँस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीको आयोजनामा तालिम शुरु भएको कार्यक्रम संयोजक दिपेश चौधरीले जानकारी दिए ।
आधुनिक सूचना प्रविधीको यूगमा महिलाहरु चुलो चौकामा मात्र सिमित नभई नयाँ प्रविधीको क्षेत्रमा पोख्त बनाउनु पर्ने रत्ननगर नगरपालिका कार्यपालिका सदस्य तथा रत्ननगर नगरपालिका वडा नं ६ का सदस्य बबिता चौधरीले बताइन् । २१ औं शताब्दी विज्ञान र प्रविधिको युग भएकोले कम्प्युटर तालिम अनिवार्य रहेको उनले बताइन् ।
थारु साँस्कृतिक संग्रहालयका अध्यक्ष खिलेन्द्र राज चौधरीले संग्रहालयले थारु भाषा कला संस्कृतिको संरक्षण गर्नुको साथै हस्तकला तालिम र कम्प्युटर लगाएत विभिन्न तालिम दिदैँ आएको बताए । उनले तालिम लिन सहभागि जनाएका सम्पूर्णलाई तालिममा निरन्तर सहभागि जनाउन र बीचैमा कक्षा नछोड्न आग्रह गरे ।
फ्रेन्डस नेपालको आर्थिक सहयोगमा आधारभूत निःशुल्क कम्प्युटर तालिम संचालन गरिएको उनले जानकारी दिए । तालिममा ४७ जना महिलाहरुको सहभागिता रहेको छ । विहान १० बजेदेखि बेलुका ६ बजेसम्म ४ सिफ्टमा तालिम संचालन हुनेछ ।
























