Breaking News

जिसस चितवनमा एमालेको भाग्य बलियो, गोलाप्रथाबाटै प्रमुखसहित ६ जना निर्वाचित

Banner

चितवन, जेठ ३१–

भनिन्छ भाग्य बलियो भए सबै ठिकठाक हुन्छ । जिल्ला समन्वय समिति (जिसस) चितवनको निर्वाचनमा नेकपा (एमाले)लाई ठ्याक्कै त्यस्तै भयो । भाग्य बलियो भएपछि गोलाप्रथाबाट नै एमालेले जिसस चितवनमा बहुमत प्राप्त गरेको छ । सत्तागठबन्धन र एमालेको समान ७ मत भएपछि गोलाप्रथा हुने निश्चित थियो । तर एमालेको मुख्य दाउ जिसस प्रमुख जसरी पनि जित्ने थियो । नेकपा (एकीकृत समाजवादी)लाई हरतवरले फकाउन एमाले प्रयासरत थियो । सोही अनुसार समाजवादीका उम्मेद्वार भएको ठाउँमा एमालेले उम्मेदवार नै उठाएन । फलस्वरुप जिसस उपप्रमुखमा समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । एक जना महिला सदस्य पाएको समाजवादीको स्थानमा पनि एमालेले उम्मेदवार नउठाई उल्टै शतप्रतिशत १४ मतका साथ पुजना गुरुङलाई निर्वाचित गरायो । तर एमालेले चाहे अनुसार प्रमुखमा एमालेका उम्मेदवार नारायण प्रसाद अधिकारी सजिलै निर्वाचित भएनन् ।

कांग्रेसका उम्मेदवार पूर्णबहादुर रानाभाटसंग बराबर ७ मत प्राप्त भएपछि अधिकारीले गोला थुत्न बाध्य भए । एक मत रहेको समाजवादीबाट मत प्राप्त गर्न नसकेपछि नतिजा गोलाप्रथातर्फ धकेलियो । भाग्य बलियो भएपछि अधिकारी गोलाप्रथाबाट एक मत थप गर्दै प्रमुखमा निर्वाचित भए ।

सुरुवातमै एमालेका उम्मेदवारको भाग्य बलियो देखिएपछि सदस्यमा पनि सोही अवस्था दोहोरियो । ६ जना सदस्यका लागि एमालेले ५ जना उम्मेदवार बनाएको थियो । जसमध्ये गोलाप्रथाबाट ४ जना एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

खुल्लातर्फ तीन जना सदस्यमा गोलाप्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेल मात्रै निर्वाचित भए । गोलाप्रथाबाट नेकपा (एमाले)का कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित भए । ३ जनाका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट नेकपा (माओवादी केन्द्र)का अर्जुन भण्डारी, धर्मलाल देवकोटा र एमालेका लक्ष्मीनारायण चौलागाई पराजित भए । उनीहरुसको सबैको समान ७ मत प्राप्त भएको थियो ।

महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की पुजना गुरुङ शतप्रतिशत १४ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनले गठबन्धनको मात्र नभई नेकपा (एमाले)को समेत ७ मत प्राप्त गरिन् । एमालेले ३ जना महिला सदस्यका लागि २ जना मात्रै उम्मेदवार उठाएको थियो । अन्य महिला सदस्यहरुमा एमालेकै सविता चौधरी र अनिता नेपाल निर्वाचित भएका छन् । उनीहरु दुवै जना गोलाप्रथाबाट निर्वाचित भएका हुन् । महिला सदस्यमा पनि एमालेको भाग्य बलियो रह्यो । कांग्रेसकी अनिता चौधरी र माओवादीकी सुमित्रा तामाङ श्रेष्ठले समान ७ मत ल्याएपछि गोलाप्रथाबाट पराजित हुन पुगे ।

एक जना दलित वा अल्पसंख्यक सदस्यमा पनि एमालेको भाग्य बलियो रह्यो । एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित भइन् । नेपाली कांग्रेसकी केशरी माया सुनार र गुनुको बराबर ७ मत भएपछि गोलाप्रथाबाट निर्वाचित गरिएको थियो ।

उपप्रमुखमा भने नेकपा (एकीकृत समाजवादी)की कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । उनको स्थानमा एमालेले उम्मेदवार नउठाएपछि कल्पना निर्विरोध निर्वाचित हुन सफल भइन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको निर्वाचनमा कुल १६ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>