Breaking News

जिल्ला समन्वय समिति चितवनको निर्वाचन आजः प्रमुखमा रानाभाट र अधिकारीबीच प्रतिस्पर्धा

Banner

चितवन, जेठ ३१–

जिल्ला समन्वय समिति चितवनको प्रमुख पदका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलको तर्फबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका तर्फबाट नारायण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा हुने मतदान कार्य विहान १० बजेदेखि दिउँसो १२ बजेसम्म चल्ने छ । लगत्तै मतगणना हुनेछ । पाँच दलीय गठबन्धन र एमालेको तर्फबाट मत बराबर रहेकोले पहिलो चरणमा हुने मतदानमा मत बराबर आएमा दोस्रो चरणमा चिठ्ठाबाट प्रमुख चयन हुने सम्भावना देखिन्छ ।

सात स्थानीय तहका प्रमुख र उपप्रमुखले समन्वय समितिका लागि निर्वाचन गर्ने व्यवस्था रहेको छ । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनले जितेको छ भने माडी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेको छ । इच्छाकामना र कालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ ।

त्यसैगरी रत्ननगरमा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । खैरहनी नगरपालिकामा पनि मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । यसरी एमाले र पाँच दलीय गठबन्धनको दुवैको मत सात हुन आउँछ । यसरी एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुख निर्विरोध निर्वाचित हुनु भएको छ । एक मत जसले पाउँछ उसले निर्वाचन जित्ने सम्भावना देखिन्छ ।

यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अर्जुन भण्डारी, धर्मलाल देवकोटा र कांग्रेसका संजीव पौडेलको उम्मेदवारी परेको छ । एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईले खुला सदस्यमा उम्मेदवारी दिएका छन् ।
तीन जना महिला सदस्यमा गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा एसकी पूजना गुरुङ र माओवादी केन्द्रकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीले उम्मेदवारी दिएका छन् ।

एक दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसले केशरी माया सुनार र माओवादी केन्द्रले गुनु विकलाई उम्मेदवार बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>