Breaking News

जिसस चितवनको उपप्रमुखमा गठबन्धनकी सापकोटा निर्विरोध, प्रमुखसहित सदस्यमा १६ जनाको उम्मेदवारी

Banner

चितवन, जेठ २९–

जिल्ला समन्वय समिति (जिसस) चितवनका प्रमुख, उपप्रमुखसहितका पदमा १६ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको कार्यालयका भेषबहादुर गुरुङले जानकारी दिए । जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र नेकपा (एमाले)बाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको छ ।

यस्तै उपप्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की कल्पना काफ्ले सापकोटाको उम्मेदवारी परेको छ । सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यस्तै तीन जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका संजीव पौडेलको उम्मेद्वारी परेको छ । नेकपा (एमाले)बाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ ।

त्यसैगरि तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा (एस)की पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेद्वारी परेको छ ।

एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु वि.क.ले उम्मेदवारी दिएका छन् । निर्वाचन तालिका अनुसार भोलि (सोमबार) विहान १०–११ बजे भित्रमा उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ ।

सोमबार नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ । नेतृत्वका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ ।

मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिनेछन् । गठबन्धनमा आवद्ध दल र नेकपा (एमाले)को समान ७ भोट रहेको छ । निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गठबन्धनले भरतपुर महानगरपालिकाको प्रमुख, उपप्रमुख, राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुख, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको प्रमुख, माडी नगरपालिकाको उपप्रमुख जितेको थियो । नेकपा (एमाले)ले कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकाको प्रमुख र उपप्रमुख, माडी नगरपालिकाको प्रमुख, रत्ननगर र खैरहनी नगरपालिकाको उपप्रमुख जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>