चितवन विशेष

चितवनमा गठबन्धनसंग माओवादी असन्तुष्ट, जिससको चुनावमा के होला ?

Banner

चितवन,जेठ २९-

स्थानीय तहको निर्वाचनमा चितवनमा सोचे अनुसारको परिणाम नआएपछि माओवादी केन्द्र पाँच दलीय गठबन्धनसंग असन्तुष्ट बनेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेतृ रेनु दाहालले विजयी प्राप्त गरेपनि अन्य पालिकामा कुनै मेयर उपमेयर पद माओवादीले जित्न नसकेपछि गठबन्धनसंग असन्तुष्ट बनेको हो ।

वडा अध्यक्षमा पनि माओवादी केन्द्रका न्यून उम्मेदवार मात्रै विजयी भए । जस कारण पनि माओवादी केन्द्र गठबन्धनप्रति असन्तुष्ट छ । गठबन्धनको फाइदा लिँदै काँग्रेसले धेरै ठाँउमा विजयी हाँसिल गरेको तर माओवादीलाई धोका दिइएको माओवादी केन्द्र चितवनका एक जिल्ला नेताले बताए ।

उनले भने,‘काँग्रेसमा गठबन्धनप्रति इमान्दारी देखिएन,हामीले सबै ठाँउमा इमान्दारीका साथ काँग्रेसका उम्मेदवारलाई विजयी गरायौं ।’काँग्रेस कामजोर रहेका ठाँउमा पनि हाम्रो मतका कारण विजयी भएका छन् । तर हाम्रो राम्रो जनआधार रहेको क्षेत्रमा भने पराजय भोग्नु प¥यो ।

‘भरतपुरमा पनि रेनु दाहालले जित्नुका पछाडि आफ्नो लोकप्रियता र बामपन्थीको मत नै हो,उनले भने,‘यहाँ पनि सुरुवातदेखि नै काँग्रेसले धोका दिएको हो ।’ निर्वाचनको अन्तिम समयमा भने जिल्ला र केन्द्रिय नेताहरुले साथ दिएको उनले बताए । भरतपुरमा नेकपा एमालेको तर्फबाट पनि रेनु दाहाललाई राम्रो मत गएको थियो । भरतपुर महानगरको कार्यपालिका निर्वाचनमा पनि थोरै सिट दिएको भन्दै माओवादी केन्द्र काँग्रेससंग असन्तुष्ट छ । पाँच सिट दिने भनिएपनि अन्त्यमा तिन सिट हुँदै दुई सिटमा मात्रै सिमित बनाइएको थियो ।

अहिले जिल्ला समन्वय समितिमा पनि अध्यक्ष सहित चार सदस्य काँग्रेस र उपाध्यक्षसहित एकीकृत समाजवादीले दुई सदस्य पाउने भएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको हो । माओवादी केन्द्रले जिसस चितवनमा तीन जना सदस्य मात्रै पाउने सहमती गरिएको छ ।

जिससको निर्वाचनका लागि नेपाली काँग्रेसको पाँच,माओवादी केन्द्रको एक र एकीकृत समाजवादीको एक मत गरी गठबन्धनका तर्फबाट सात मत मात्र छ । नेकपा एमालेको पनि सात मत रहेको छ । जसका कारण चितवन जिससका निर्वाचन के हुन्छ भन्ने यसै भन्न सकिने अवस्था छैन ।

गठबन्धन र एमालेका तर्फबाट सात/सात मत प्राप्त गरे भने बराबर भई दोस्रो चरणमा गोलाप्रथा हुने सम्भावना छ । तर विभिन्न दलको गठबन्धन भएका कारण मत क्रस हुने सम्भावना पनि रहेको चितवनका जिल्ला नेताहरु बताउँछन् । देशका कुनैकुनै जिल्लामा गठबन्धन बाहेका दलहरु विच पनि जिससका लागि तालमेल भएको छ । कतिपय ठाँउमा एमाले माओवादी केन्द्र,कतिपय ठाँउमा काँग्रेस एमाले र कतिपय ठाँउमा एमाले एकीकृत समाजबादी विच पनि तालमेल भएको छ । तर चितवनमा भने गठबन्धनलाई कायम गरिएको छ ।

गठबन्धनका तर्फबाट समन्वय समितिको अध्यक्षमा काँग्रेसका पूर्णबहादुर रानाभाट उम्मेदवार बन्दैछन् भने एमालेका तर्फबाट नारायण अधिकारी उम्मेदवार बन्नेछन् । जिसस चितवनको आज (आइतबार) मनोनयन र पर्सी मंगलबार निर्वाचन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>