Breaking News

दुर्घटनाको फाइदा लिँदै पुरानो मेडिकल कलेज, घाइते ल्याउन एम्बुलेन्सलाई कमिशन दिँदै लुट मच्चाउँदै

Banner

चितवन, जेठ २६–

चितवन राजधानी काठमाडौं पछि सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । यहाँ दैनिकजसो साना तथा ठूला दुर्घटना हुने गर्छन् । मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा दुर्घटनाका घाइतेहरुलाई पनि यही उपचार गरिन्छ । तर विडम्बना दुर्घटनाको फाइदा उठाउँदै यहाँको एक मेडिकल कलेजले चरम लुट मच्चाई रहेको छ ।

भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले प्रहरी प्रशासन र एम्बुलेन्स चालकहरुसंगको मिलेमतोमा घाइतेहरुलाई आफ्नो अस्पतालमा उपचारका लागि ल्याउने गरेको छ । भरतपुरका एक एम्बुलेन्स चालकले दुर्घटनाका घाइते र अन्य बिरामी पुरानो मेडिकल कलेजमा लगेबापत कमिशन दिने गरेको बताए ।

नाम नभन्ने शर्तमा उनले भने–‘हामी एम्बुलेन्स चालक मात्रै होइन प्रहरीले नै दुर्घटना पश्चात घाइतेहरुलाई पुरानो मेडिकल कलेजमा लैजान भन्छ ।’ कलेज र प्रहरीको सम्बन्ध के हो हामीलाई थाहा छैन तर जहाँ दुर्घटना भए पनि त्यहिँ नै लैजाउँ भन्छन् । उनले पुरानो मेडिकल कलेजमा दुर्घटनाका घाइतेहरुलाई लैजादा सहजै कमिशन पाउने गरेको बताए ।

अर्का एम्बुलेन्स चालकले आफूले पनि धेरै घाइतेहरुलाई पुरानो मेडिकल कलेज लगेको बताए । उनले आफूले कमिशन भने नपाएको दावी गरे । प्रहरीले नै लैजान भनेका कारण भरतपुर अस्पताल वा अन्य अस्पताल नलगि पुरानो मेडिकल कलेज लैजाने गरिएको बताए ।

अस्पतालले घाइतेको उपचार गरेबापत चर्को शुल्क समेत असुल्ने गरेको छ । उपचार खर्च भने अस्पतालले बिमा मार्फत भुक्तानी लिने गरेको छ । कतिपय अवस्थामा अस्पतालले बिमा रकम भुक्तानी ढिलो हुने भन्दै घाइतेहरुसंगै धरौटी रकम माग्ने गरेको छ । चर्को शुल्क असुल्न आवश्यकता भन्दा बढी चेकजाँच समेत गराउने बिरामीहरु बताउँछन् ।

पछिल्ला केहीदिन यता चितवनमा दिनहुँजसो सवारी दुर्घटना भए । ती सबै दुर्घटनाका घाइतेहरुलाई पुरानो मेडिकल कलेजमै लगियो । जिल्लामा संघीय सरकारको मातहतमा रहेको भरतपुर अस्पताल हुँदाहुँदै ती घाइतेहरुलाई निजी अस्पतालमा लगिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता नरहरि अधिकारी सबै घाइते निजी अस्पतालमा मात्रै पुग्नु प्रति पनि अनभिज्ञता प्रकट गरे ।

‘हामीले पटक–पटक सरकारी अस्पतालमा घाइतेहरुलाई लैजान पत्र समेत काटेका छौं, तर सधै एम्बुलेन्सहरुले घाइतेहरुलाई निजी अस्पतालमा मात्रै किन लैजान्छन् भन्नेमा हामी पनि चासो राखी राखेका छौं’–प्रवक्ता अधिकारीले भने । उनले पछिल्ला केहीदिन यता भएका दुर्घटनाका धेरैजसो घाइतेहरुको उपचार पुरानो मेडिकल कलेजमै भएको जानकार दिए ।

भरतपुर अस्पतालमा नगन्य मात्रामा दुर्घटनाका घाइते पुग्ने गरेका छन् । कतिपय भरतपुर अस्पताल पुगेका घाइतेहरुलाई फर्काएर निजी अस्पताल लाने गरिएको उदाहरणहरु छन् । भरतपुर अस्पतालका मेडिकल सुुपरिटेण्डेन्ट डा.कृष्ण पौडेलले सबै सेवा सुविधा हुँदाहुँदै पनि दुर्घटनाका घाइतेहरुलाई महंगो खर्चमा उपचार गराउन निजी अस्पताल लैजाने गरिएको बताए । ‘कसको के स्वार्थ हुन्छ थाहा भएन, घाइतेहरुको उपचार सरकारी अस्पतालमा हुनुपर्ने हो तर यहाँ घाइते ल्याउनै दिँदैनन्’–मेसु डा.पौडेलले भने । भरतपुर अस्पताल ल्याई सकेका घाइतेलाई समेत विभिन्न बहानामा पुनः निजी अस्पताल लगिएको घटना मेसु पौडेलसंग अनुभव छ ।

सवारी दुर्घटनामा घाइते हुनेहरुको उपचारका लागि कम्तीमा तीन लाख रुपैयाँसम्मको बिमा हुने गरिएको छ । ती रकम उठाउनका लागि निजी अस्पतालमा उपचार गराउँदा सहज हुने भएकाले घाइतेहरुलाई निजी नै पठाउने गरिन्छ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले दुर्घटनाका घाइतेहरुलाई पुरानो मेडिकल कलेजमै मात्र लैजाने बारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘मैले अहिलेसम्म एउटै मेडिकल कलेजमा मात्रै घाइते लगिएको भन्ने जानकारी छैन, के रहेछ म बुझ्छु’–प्रजिअ तामाङले भने ।

चितवनमा दर्जानौं निजी अस्पतालहरु रहेका छन् । यहाँ चितवनका मात्र नभई अन्य जिल्लाबाट समेत दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि ल्याउने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>